
गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न छ ।
गोरखा-१३ की वडाध्यक्ष मित्रा परियारले साना सहरी विकास कार्यालय कास्कीबाट विनियोजित बजेटमार्फत यहाँ चार सय मिटर सडक कालोपत्रको काम करिब सम्पन्न भएको बताइन् ।
ठेकेदार कम्पनी चिराग कन्ट्रक्सनका सञ्चालक लक्ष्मण श्रेष्ठले चार सय मिटर सडक कालोपत्र, ७५ मिटर ढलान र पाँच सय मिटर नाला निर्माणको काम सम्पन्न भएको बताए ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरनी सडकखण्डसँग जोडिए पनि लामो समयसम्म स्तरोन्नति नहुँदा त्यस क्षेत्रका बासिन्दले आवातजातवमा कठिनाइ भाग्दै आएका थिए । यो सडकखण्ड मझुवा चौकी, दराई गाउँ, जैकोट, सातदोबाटे, बैटारी हुँदै पालुङटार नगरपालिकासँग जोड्ने प्रमुख सडक हो ।
स्थानीयवासी विक्रम मल्लले कालोपत्रको काम अघि बढेसँगै सडकले विस्तारै मुहार फेर्दै गएको र यसले स्थानीय उत्साहित भएका बताए ।