
उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएका छन् । “यो सङ्ख्या हालसम्मकै सर्वाधिक हो, मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ”, प्रमुख शेरचनले भने ।
मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा आव २०८०/८१ मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।