२५ जेठ २०८३, सोमबार

जमजुङको बिडम्बना- जिल्लाभर एउटा मात्र दमकल !

साउन ४, २०८२
लमजुङ
जमजुङको बिडम्बना- जिल्लाभर एउटा मात्र दमकल !
फाइल तस्वीर ।

गण्डकी प्रदेश अन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा छ । आठ पालिका रहेको यो जिल्लामा आगलागीका घटना हुँदा सबै पालिकाले एउटै दमकलको भर पर्नुपर्ने बाध्यता छ ।

आगलागीका घटना जतिबेला पनि हुनसक्ने भए पनि लमजुङमा एउटै मात्र दमकल हुँदा तत्काल घटनास्थलमा पुग्नलाई समस्या हुँदा बेलैमा आगो नियन्त्रण गर्न समस्या हुँदै आएको छ । 

जिल्लामा चार नगरपालिका र चार गाउँपालिका रहे पनि बेँसीशहर नगरपालिकामा मात्र दमकल छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा दमकल राख्नुपर्ने उल्लेख भए पनि जिल्लाका अन्य सात पालिकाले स्थानीय सरकार आएको यतिका वर्ष हुँदा पनि दमकल खरिद नगर्दा एउटै दमकलको भर पर्दै आएका छन् । 

बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालका अनुसार ठूलो आगलागी भएका बेला अन्य स्थानीय तहले बेंसीशहरकै दमकल प्रयोग गर्ने गरेका छन् । यसरी एउटै दमकल अन्य पालिकाले पनि प्रयोग गर्दा आगलागीका घटना तत्काल नियन्त्रण गर्न समस्या हुने हुँदा अन्य पालिकाले दमकल खरिद गरे आगलागीबाट हुने जनधनको सुरक्षामा मद्दत पुग्ने थियो ।  

स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मर्स्याङ्दी गाउँपालिकाका स्थानीय अनिल गुरुङले बताए । सुन्दरबजार नगरपालिकाका स्थानीय अमृता घिमिरेले जिल्लाकै दोस्रो ठूलो बजार रहेको यस पालिकामा आगलागी हुँदा दमकल नभएका कारण समयमै आगो निभाउन नसक्दा बढी क्षति हुने गरेको र पालिकाले दमकल खरिद गरी आगलागी हुँदा समयमै उपलब्ध गराउनुपर्ने बताइन् ।

अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका अधिकांश प्रमुख तथा उपप्रमुखका लागि सुविधायुक्त सवारीसाधन भने छन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँ आगलागीका घटना विशेषगरी गर्मीयाममा बढी हुने गरेका र आगलागीका बेला दमकल बेंसीशहरकै मगाउने गरेको बताए । पालिकाका अधिकांश भागमा दमकल पुग्ने सडक नभएकाले समस्या भइरहेको उनको भनाइ छ । 

बेंसीशहरको दमकल मगाउने गरे पनि केही आगलागी हुँदा बेंसीशहरबाट आउँदा समय लाग्छ । आगलागीका घटनामा दमकलको प्रयोग महत्त्वपूर्ण हुने भए पनि भौगौलिक समस्याका कारण खरिद नगरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । 

जिल्लामा सामान्य आगलागी हुँदा दमकलविना नै प्रहरीले आगो निभाउने गरेका छन् । ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको प्रहरीले जनाएको छ ।   
 

salt training

कमेन्ट गर्नुहोस्