
ललितपुरको गोदावरीमा बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–७ मा कृष्णबहादुर मार्फा घाइते भएका छन् । उनको दायाँ हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी चक्रराज जोशीका अनुसार घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ छन् ।
उनीहरू कृष्णबहादुरले लगाएको बुद्धचित्त चोर्न गएराति गएको प्रहरीले बताएको छ । राति २ बजेतिर कुकुर भुकेपछि कृष्णबहादुर घर बाहिर निस्केका थिए । त्यसपछि यो समूहले उनीमाथि खुकुरी प्रहार गरेको थियो ।
पक्राउ परेका तीन जनाबाट ९९ वटा बुद्धचित्तको दाना बरामद भएको एसपी जोशीले बताए ।
उनीहरूले बुद्धचित्तको सुरक्षाका लागि कृष्णबहादुरले जडान गरेको सीसीक्यामराको तार काटेर दाना टिपेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइते कृष्णबहादुर डिस्चार्ज भइसकेका छन् ।