
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षका सांसदहरूबीच छलफल चलिरहेको छ । आइतबार काठमाडौंको दरबारमार्गस्थित एक होटलमा आइतबार दिउँसो छलफल भइरहेको हो ।
पछिल्लो दिनमा राजनीतिक भेटवार्ता तीव्र बनाएका कोइरालाले आज आफूनिकट सांसदहरूसँग छलफल गर्न लागेका हुन् ।
‘आज बिहान पनि छलफल भएको थियो । हाम्रो समूहका सांसदको बैठक बोलाउने तयारी भएको हो । यसैका लागि २ बजे सांसदहरूलाई बोलाइएको छ,’ कांग्रेस सांसद हृदयराम थानीले लोकान्तरसँग भने, ‘छलफलमा आन्तरिक राजनीति र समसामयिक विषयमा कुराकानी हुनेछ ।'
शेखर पक्षका सांसद रामकृष्ण यादवले छलफलमा जाँदै गरेको लोकान्तरलाई जानकारी दिए ।
यसअघि कोइरालाले शुक्रबार पूर्वराष्टपति विद्या भण्डारी र बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका थिए ।
समसामयिक विषयमा छलफल गर्न सांसदहरूबीच छलफल हुन लागेको कोइराला निकट अर्का एक सांसदले जानकारी दिए ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्नेगरी नयाँ राजनीतिक ध्रुबीकरणको तयारी भइरहेको बेला कोइरालाले आफूपक्षीय सांसदसँग भेटवार्ता गरेका हुन् ।
सरकारलाई अप्ठ्यारो पार्नेगरी हुन लागेको राजनीतिक ध्रुवीकरणबारे शनिबार एमाले पोलिटब्युराे बैठकमा समेत कुरा उठेको थियो ।