
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता दुई वर्ष अगाडि नै नवीकरण भएको दाबी गरेका छन् । आइतबार च्यासलमा पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता चलिरहँदा पाण्डेले सञ्चारकर्मीसँग यस्तो दाबी गरेका हुन् ।
सचिवालय बैठकले नै भण्डारीको सदस्यतालाई स्वीकारेको उनको भनाइ छ । त्यसपछि अध्यक्ष ओलीले पनि सहमति जनाएको उनले बताए । ‘दुई वर्ष अघि नै पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरेको छु भन्नुभएको थियो । एक वर्ष अघि नै सचिवालय बैठकमा महासचिवले पार्टी बैठकमा उहाँले नवीकरण गर्नुभएको भन्नुभएको थियो,’ पाण्डेले भने, ‘अध्यक्षले पनि त्यसमा सहमति जनाउनुभएको थियो । नवीकरण विषयमा पहिले नै प्रश्न उठेन त्यसैले अहिले बाहिर विवाद गर्नुभन्दा भित्रै बसेर सहमति गर्नुपर्छ ।’
अध्यक्षले नै भण्डारीको सदस्यता र पार्टीमा आउने कुरामा छलफल गर्ने भनेरै आजको वार्ता डकेका उनको भनाइ । ‘उहाँको सदस्यता, पार्टीमा आउने कुराको विषयलाई बीचमा बैठक बसेर, बैठकपछि वा विधान महाधिवेशनपछि छलफल गर्छु भन्नुभएको थियो,’ पाण्डेले भने, ‘यसै प्रयासस्वरूप अध्यक्ष र भण्डारीबीच आज भेटवार्ता भएको हो ।’
शनिबार पोलिटब्युरो कमिटीको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौगमले भण्डारीको सदस्यता होल्ड भएको दाबी गरेका थिए । तर पाण्डे आधिकारिक रूपमा पार्टीले होल्ड नभनेको जिकिर गरेका छन् ।
यस्तै नेता कर्ण थापाले पनि पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नभएको कुरा साँचो नभएको बताए । आइतबार पार्टी केन्द्रीय कार्यालयमा ओली र भण्डारीबीच छलफल चलिरहँदा कार्यालय परिसरमा सञ्चारकर्मीहरूसँग उनले यस्तो बताएका हुन् ।