नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले आफूहरूलाई पेल्ने काम भए वारपारको राजनीतिमा लाग्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसलाई प्राइभेट कम्पनी बनाएको भन्दै सांसद सुनिल शर्माले सम्मान नदिए जे गर्न पनि तयार हुने बताएका हुन् ।
‘अब अधिवेशन र चुनाव आउँदैछ । शेरबहादुर देउवाले कांग्रेसलाई प्राइभेट लिमिटेड बनाउनुभएको छ । कोशी सरकारमा कोइरालाको मान्छे कोही पनि छैन । सम्मानजनक हिसाबले लान खोजे एउटा, नत्र सुसाइडल हुन्छ,’ काठमाडौंको एक होटलमा शेखर पक्षको भेलापछि शर्माले भने, ‘हामी पहिलो पार्टीमा सम्मान खोज्ने हुन्छ । निहुँ खोजेर भिड्न खोजे हामी पनि मर्न तयार हो । यस्तो भइरहे सुसाइडल हुन्छ ।’
तीन वर्षमा जनताको जीवनमा कुनै परिवर्तन नभएको भन्दै शर्माले यस्तो प्रवृत्ति नसहने बताए ।
सरकार र दलको नेता फेरिने विषयभन्दा जनताको जीवनस्तरको प्रश्न रहेको शर्माले बताए ।
पछिल्लो समय सरकारको समीकरण फेर्नेसम्मको तयारीमा शेखर समूह लागेको छ । यसका लागि विपक्षीबीच मोर्चाबन्दी गर्ने र संसदीय दलको नेतासमेत परिवर्तन गर्न सकिनेबारे छलफल भएको हो ।
शेखर समूहले आइतबार आफू निकटका मन्त्री र सांसदहरूसँग दुई चरणमा छलफल गरेको छ ।