२४ जेठ २०८३, आइतबार

विद्यालय 'मर्ज' गर्ने नगरपालिकाको निर्णयविरुद्ध विद्यार्थी र अभिभावक आन्दोलित, आमरण अनसनको चेतावनी

साउन ४, २०८२
विराटनगर
विद्यालय 'मर्ज' गर्ने नगरपालिकाको निर्णयविरुद्ध विद्यार्थी र अभिभावक आन्दोलित, आमरण अनसनको चेतावनी

तेह्रथुमको लालीगुराँस नगरपालिकाले विद्यालय समायोजन गर्ने निर्णय गरेपछि विद्यार्थी र अभिभावक आन्दोलित बनेका छन् । गत असार २६ गतेको कार्यपालिका बैठकले सिंहदेवी माध्यमिक विद्यालयको कक्षा ११ र १२ लाई रत्न मावि, सोल्मामा समायोजन (मर्ज) गर्ने निर्णय गरेपछि सिंहदेवी मावि मङ्गलबारेका विद्यार्थी र अभिभावक आन्दोलनमा उत्रेका हुन् ।

नगरपालिकाको निर्णय अव्यावहारिक भएको भन्दै उनीहरूले आइतबार लालीगुराँस नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरू नारा जुलुससहित नगरपालिकाको कार्यालय पुगेका थिए । 

रत्न मावि र सिंहदेवी माविबीच करिब एक घण्टाको दूरी छ ।

समायोजन हुने विद्यालयका विद्यार्थीलाई ल्याउन बसको व्यवस्थापन गर्ने तथा छात्रावासको पनि व्यवस्था मिलाउने निर्णय नगरपालिकाले गरेको छ ।

नगरपालिकाको निर्णयको उद्देश्य ठीक भए पनि त्यसको कार्यान्वयन तत्काल सम्भव नहुने सिंहदेवीका अभिभावक विपिन लिम्बूले बताए । लिम्बू विद्यालयले गठन गरेको वार्ता टोलीका संयोजकसमेत हुन् । ‘तत्काल बस सञ्चालन हुने सम्भावना छैन,’ उनले भने, ‘छात्रावासको व्यवस्थापन पनि तत्काल सम्भव छैन । पछि व्यवस्था गर्छाैं भन्ने आधारमा मात्र हामी हाम्रा छोराछोरी अन्यत्र पठाउन सक्दैनौं ।’

रत्न माविमा केही वर्ष अगाडिसम्म छात्रावास भए पनि अहिले भत्किएर विद्यार्थी बस्न नमिल्ने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।

नगरपालिकाले जबरजस्ती निर्णय कार्यान्वयन गर्न खोजेको अभिभावकको आरोप छ । ‘हाम्रो विद्यालयमा करिब ९० प्रतिशत अभिभावक र विद्यार्थी यो निर्णयको विरुद्धमा छन्,’ लिम्बूले भने, ‘हाम्रो भौतिक संरचना र विद्यार्थी संख्या पर्याप्त छ, शैक्षिक गुणस्तर पनि राम्रो छ, तर पनि हामीमाथि अन्याय भयो ।’

null

प्लस टु सञ्चालन भइरहेका पालिकाका आठ वटा विद्यालयको तह घटाएर दुई स्थानमा सीमित गर्ने भनिए पनि अन्त्यमा दुई वटा विद्यालयको मात्रै तह घटाउन लागिएको स्थानीयको आरोप छ । सिंहदेवी र तीनजुरे माविको मात्रै तह घटाउन लागेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । पहिला वसन्तपुर बजारमै रहेको वसन्त मावि र रत्न माविमा मात्रै प्लस टु सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

लिम्बूका अनुसार, उनीहरूले शान्तिपूर्ण र्‍याली, छलफल र अन्तरक्रिया जस्ता चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेका छन् । ‘यदि हाम्रो माग सुनुवाइ भएन भने हामी आमरण अनसन बस्न पनि पछि हट्दैनौं,’ उनले भने।

सिंहदेवी माविका प्रधानाध्यापक भबेन्द्र लिम्बूले नगरपालिकाले केही निश्चित व्यक्तिहरूसँग मात्र छलफल गरेर निर्णय गरेको र अधिकांश अभिभावकको राय नलिएको बताए ।

सिंहदेवीमा व्यवस्थापन र शिक्षा संकायमा पढाइ भइरहेको छ । आफैं सञ्चालन गर्न सक्षम हुँदाहुँदै पनि नगरपालिकाले अव्यवहारिक निर्णय गरेको लिम्बूको भनाइ छ । ‘अहिले नै सबै पूर्वाधार तयार नभएको अवस्थामा विद्यार्थीलाई अन्यत्र पठाउँदा उनीहरूको भविष्यमाथि खेलवाड हुन्छ,’ प्रअ लिम्बूले भने, ‘अहिले जहाँ छ, त्यहीँ पढाउन दिइयोस्, सबै व्यवस्थापन भएपछि हामी आफैं सोचौंला ।’

उनका अनुसार, विद्यालयमा हाल कक्षा १२ मा १८ जना विद्यार्थी छन् र कक्षा ११ मा पनि भर्ना प्रक्रिया चलिरहेको छ ।

आन्दोलन अगाडि आइतबार नै नगर प्रमुख अर्जुन माबोहाङ, उपप्रमुख जमुना कार्की मगर र आन्दोलनरत पक्षबीच वार्ता पनि भएको थियो । वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनरत पक्ष थप आक्रोशित भएको छ । उनीहरूले नगरपालिका घेराउ गर्ने, सरोकारवालासँग छलफल गर्ने र माग पूरा नभए आमरण अनसन शुरू गर्ने बताएका छन् ।

‘यही साउन १५ गतेपछि कार्यपालिका बैठक बसेर छलफल गरौंला भनेर मेयर सा'बले भन्नुभयो,’ लालीगुराँस नगरपालिका शिक्षा शाखाकी अधिकृत सुरक्षा चापागाईंले भनिन्, ‘त्यसपछि आन्दोलनरत पक्ष उठेर हिँड्नुभयो । म पनि कार्यालयबाहिर निस्किएँ, अरू के भयो थाहा भएन ।’

salt training

कमेन्ट गर्नुहोस्