
राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई हस्तान्तरण गरेको छ।
आयोगका सचिव मुरारीप्रसाद खरेलले आइतबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर संविधानको धारा २९४ को उपधारा (३) अनुसार प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले मुलुकमा नागरिकका मानव अधिकारको रक्षा गर्न निरन्तर काम भइरहेकामा जोड दिँदै अझ प्रभावकारी रूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याए। उनले कुप्रथा, कुसंस्कार, जातीय विभेद र लैङ्गिक हिंसाले मानव अधिकार हनन भइरहेको उल्लेख गर्दै यस्ता गतिविधिको अन्त्यका लागि आयोग थप सक्रिय हुनुपर्ने बताए।
सो अवसरमा आयोगका कोशी प्रदेश प्रमुख वीरबहादुर बुढामगरले प्रदेश सरकारले नीति तथा कानुन निर्माण गर्दा मानव अधिकार मैत्री बनाउनुपर्ने सुझाव दिएका थिए।