
राजनीतिक सक्रियता बढाएका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक संकट समाधानका लागि आफूले पहल शुरू गरेको बताएका छन् । आफूनिकट सांसदहरूसँग आइतबार भएको छलफलमा शेखरले आफू अगाडि बढिसकेको बताएका हुन् ।
‘म अगाडि बढिसकें, हात हालिसकें, साथीहरूको सहयोग र समर्थन चाहिन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले लोकान्तरसँग भने । दरबारमार्गस्थित एक होटलमा भएको छलफलमा कोइरालाले संसदीय दलको नेता परिवर्तनका लागि पनि एटेम्ट गर्ने संकेत दिएका हुन् ।
१४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइराला संसदीय दलको नेतामा भने उठेका थिएनन् । संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका थिए । संसदीय दलको नेताका लागि चुनाव भएको साढे २ वर्षपछि शेखरले दलको नेताका लागि प्रयास गर्ने संकेत गरेका ती नेताले बताए । कोइराला पक्षले आफ्नो पक्षका मन्त्रीलाई फिर्ता बोलाउनेसम्मको तयारी गरेको स्रोतको दाबी छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटबारे कोइरालाले मिटिङमा ब्रिफिङ गरेका थिए । ‘राजनीतिक संकट गहिरियो, कसरी समाधान दिने भन्ने विषयमा छलफल भएको हो,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
आइतबारको बैठक कुनै भेला नभई केही सांसदहरूसँग छलफल भएको सहभागी एक नेताले बताए । भेटको व्यवस्थापन गरेका सांसद राजेन्द्र बजगाईंले शेखरले गरिरहेको राजनीतिक मुभबारे छलफल भएको बताए । ‘आफू किन दौडिरहेको छु भन्नेबारे कोइरालाले ब्रिफिङ गर्नुभयो । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भयो,’ बजगाईंले भने । उनले पार्टी फुटाएर प्रधानमन्त्री बन्ने पक्षमा कोइराला नभएको समेत स्पष्ट गरे ।
कोइराला निकट स्रोतका अनुसार चरण चरणमा छलफलपछि सांसदहरूको सामूहिक छलफल हुनेछ । कोइराला पक्षीय सांसद डा. सुनिल शर्माले संसदीय दलमा शेखरको पक्षमा ६० प्रतिशतको समर्थन जुट्ने दाबी गरे । ‘आजका मितिमा डा. शेखर कोइरालाले चाहँदा खेरी संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ । संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ,’ शर्माले भने ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने निष्कर्षसहित कोइरालाले राजनीतिक छलफल शुरू गरेका थिए ।
ओली–देउवाबीचको गठबन्धन भत्काएर नयाँ समीकरण बनाउनेबारे शेखरले गृहकार्य थालेका हुन् । कोइरालाको नेतृत्वमा राजनीतिक ध्रुवीकरणको प्रयासबारे लोकान्तरले समाचार ब्रेक गरेको थियो ।
BREAKING: ओली–देउवालाई काउन्टर दिन अर्को मोर्चाको प्रयास: विद्या, प्रचण्ड, माधव र शेखर एकठाउँ !
नेकपा एमालेको पोलिटब्युरो बैठकमा समेत यस विषयमा छलफलको भएको थियो । शनिबारको बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले शेखरको नेतृत्वमा हुन लागेको राजनीतिक समीकरणबारे चासो व्यक्त गरेका थिए ।
कोइरालासँग बिहान भएको भेटमा सहभागी केन्द्रीय सदस्य एवं सांसद हृदयराम थानीले कुशासन, भ्रष्टाचारलगायत विषयमा आफूहरूको चिन्ता रहेको बताए ।
‘देशमा भएको विकृतिप्रति जनता निराश छन् । उनीहरूमा आक्रोश छ । मन्त्रीको क्वार्टरमा झोलाका झोला पैसा भेटिनेजस्ता विकृति देखिँदा हामी चुप लागेर बस्नुहुँदैन भनेर शेखर डाक्टरसाबले अग्रसरता लिएर भेटघाट गरेको बताउनुभएको छ,’ कांग्रेस नेता थानीले लोकान्तरसँग भने, ‘विकृति समाधानको लागि मैले प्रचण्डदेखि पूर्वराष्ट्रपतिसँग पनि संवाद गरे । अब कसरी अगाडि बढ्ने तपाईंहरू पनि सुझाव दिनुस् भनेर हामीसँग छलफल गर्नुभएको हो ।’
सरकारको नेतृत्व र संसदीय दलको नेता बदल्ने भन्दा पनि सरकार र पार्टी नेतृत्वलाई सच्चिनका लागि दबाब दिने आफूहरूको नीति भएको थानी बताउँछन् । ‘यो कुनै सरकार र संसदीय दलको नेताको लागि प्रयत्न हो भनेर बुझ्न हुँदैन । सरकार र पार्टी नेतृत्व सच्चियोस् भनेर लिइएको पहलकदमी हो,’ थानीले भने, ‘अख्तियारको ऐन, कुलिङ पिरियड र भूमि ऐनमा छलफल नगरी गुमराहमा राखिने भएपछि यस्तो विकृतिप्रति आँखा चिम्लन हुँदैन भन्ने हाम्रो मत हो ।’