
रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक २३ वर्षीया कोइली शाह झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । उक्त घटनामा रुकुम जिल्ला अदालतले पत्रकार परिचन्द्र खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवका अनुसार खत्री अहिले मोबाइल स्विच अफ गरेर फरार छन् ।
मृतक शाहको परिवारले खत्रीविरुद्ध किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी प्रहरीले बुझेपछि मात्रै शाहको शव परिवारले बुझेका थिए । ‘मृतकका परिवारले नै खत्रीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो, हामी अनुसन्धान गर्दैछौं,' यादवले लोकान्तरसँग भने, ‘शाहको शव बन्द कोठाभित्र सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको थियो ।’
शाह गत असार २८ गते मृत फेला परेकी थिइन् । डीएसपी यादवका अनुसार पोस्टमार्टमपछि शाहका परिवारले शव बुझेर दाहसंस्कार गरिसकेका छन् ।