
काभ्रेपलाञ्चोकमा एक युवती मृत फेला परेको घटनामा अनुसन्धानपछि उनको हत्या भएको रहस्य खुलेको छ । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा रामेछापको मन्थली नगरपालिका– १३ का सन्तोष सुनारलाई पक्राउ गरेको छ ।
साउन ४ गते अपरान्ह दुई बजे बनेपा नगरपालिका– १३ स्थित भगवान थुम्की सामुदायिक जंगलमा बनेपा नयाँबस्तीकी उर्मिला उप्रेती मृत फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएकी उप्रेतीलाई उनकै परिवारले सनाखत गरेका थिए ।
अनुसन्धानका क्रममा गत असार ३२ गते नै सुनारले उनको हत्या गरेको खुलेको हो ।
सुनारले प्रहरीमा दिएको प्रारम्भिक बयानअनुसार उप्रेती र उनी विगत दुई/तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । ‘हामी दुई/तीन वर्षदेखि रिलेशसनसिपमा थियौं, मैले विवाह गरौं भन्दा उप्रेतीले मानिनन्,’ सुनारको बयान उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले लोकान्तरसँग भने, ‘उप्रेती अर्कै केटासँग लागेको शंका लागेपछि योजनाबद्ध रूपमा जंगलमा लगेर लौरोले टाउकोमा हिर्काएर मारेपछि भागेको हुँ ।’
सुनारको खोजीका लागि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटिएको थियो ।
उनी बनेपाकै एउटा इँटाभट्टामा लुकेर बसिरहेको अवस्थामा प्रहरीले साउन ४ गते राति ११ बजेर २० मिनेटमा पक्राउ गरेको घलेले जानकारी दिए ।
प्रहरीले सुनारविरुद्ध कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद पाएको छ ।