१७ असार २०८३, बुधबार

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो, शंकाको घेरामा उनकै साथीहरू

साउन ६, २०८२
सिन्धुली
मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो, शंकाको घेरामा उनकै साथीहरू

​सिन्धुलीको दूधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ ।

हत्या गरिएका व्यक्ति भारतको सीतामढी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए ।

शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन् ।

सोमबार बिहान उक्त स्थानमा करिब २५/३० वर्षको पुरुषको शव फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घटनास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो ।

प्रहरीका अनुसार पङ्कज साथीहरूसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका सबै जना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए ।

घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । भारतको विभिन्न स्थानबाट बर्सेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्