
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका पूर्वखेलाडी जोय जोन्सको निधन भएको छ ।
७० वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी वेल्सको राष्ट्रिय टोलीका पूर्वखेलाडी पनि हुन् ।
आफ्नो समयका प्रभावशाली लेफ्ट ब्याक खेलाडी जोन्सले वेल्सका लागि ७२ खेल खेलेका थिए । उनले लिभरपुलका लागि सन् १९७५ देखि सन् १९७८ सम्म खेलेका थिए । उनले चर्चित क्लब चेल्सीबाट पनि व्यावसायिक फूटबल खेलेका थिए ।
उनले चेल्सीका लागि सन् १९८२ देखि सन् १९८५ सम्म खेलेका थिए । लिभरपुललाई घरेलु लिग जिताउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले लिभरपुलबाट दुईपटक युरोपियन कपको उपाधि पनि हात पारेका थिए ।
यसका अतिरिक्त उनले क्लबका लागि यूईएफए कप र युरोपियन सुपर कपको उपाधि पनि हात पारेका थिए । वेल्स, लिभरपुल, चेल्सीसँगै विश्व फूटबलका हस्तीहरूले पनि जोन्सप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।