२३ असार २०८३, मंगलबार
एमाले केन्द्रीय कमिटी बैठक

एमाले बैठकमा ६० नेताले बोल्न बाँकी, अधिकांशको धारणा- पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु हुँदैन

साउन ६, २०८२
काठमाडौं
एमाले बैठकमा ६० नेताले बोल्न बाँकी, अधिकांशको धारणा- पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु हुँदैन

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि पार्टी कार्यालय च्यासल, ललितपुरमा जारी छ । बैठकमा अझै ६० जना नेताहरू (सदस्यहरूले) बोल्ने पालो कुरिरहेका छन् । 

मंगलबार नै समापन गर्ने भनिएको बैठक साँझ अबेरसम्म चल्न सक्ने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरलाई बताए । 

‘बैठकमा ६० जना भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने पालो कुरिरहनु भएको छ,’ बैठकमा सहभागी  ती सदस्यले भने, ‘बैठक आजै सक्ने तयारी छ ।’

प्रत्येक सदस्यलाई विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय प्रदान गरिएको छ । 
बैठकस्थलबाट केहीबेर अघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले  बैठकमा साउन २ र ३ गतेको पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको बताएका छन् । 

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पोलिटब्यूरोको चौंथो बैठकले अनुमोदन गरेको उक्त प्रस्ताव केन्द्रीय कमिटीमा प्रस्तुत गरेका हुन् । प्रस्तावमा पदाधिकारी संख्या १९ बाट १५ मा झार्ने, ७० वर्षको उमेर हद हटाउने र अध्यक्ष पदमा दुई कार्यकालको सीमा हटाउने प्रावधान समावेश छन् ।

यस्तै, महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत हुने सांगठनिक प्रतिवेदनबारे जानकारी गराएका छन् । साथै, विधान महाधिवेशनको तयारी र अन्य व्यवस्थापन सम्बन्धी जानकारी पनि बैठकमा प्रस्तुत गरिएको छ ।

बैठकमा कर्णाली प्रदेशकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको पहिचान बद्लिएको दाबी गरिन् । 

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने विषय पनि उठाएका छन् । 

एमालेका नेता महेश बर्तौलाका अनुसार अधिकांश सदस्यहरूले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै रहनुपर्ने धारणा राखेका छन् ।

‘बोल्ने अधिकांशले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु प्रणाली र व्यवस्थाका लागि उपयुक्त नहुने बताउनुभएको छ’, उनले भने । 

पार्टीले यस विषयमा आवश्यक निर्णय लिनुपर्ने सुझाव पनि आएको उनले उल्लेख गरे । आजैको बैठकले पूर्वराष्ट्रपतिबारे पनि निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्