
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले पूर्वराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन नदिने प्रयासलाई ‘गम्भीर विरोधाभाष’को संज्ञा दिएका छन्।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रश्न गरेका छन्, “कहिल्यै दलमा नरहने राजालाई राजनीतिमा आउन, चुनाव लड्न चुनौति दिनेहरूले दलबाट राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन बन्देज लगाउनु कति ठिक हो?” उनले यस्ता कार्यहरू स्वार्थप्रेरित र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।
एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा आउन नदिने निर्णय गरेपछि राप्रपा प्रवक्ताबाट यस्तो धारणा आएको हो ।
श्रेष्ठले राजनीतिक नेतृत्वमा नयाँ पुस्तालाई अघि ल्याउने जिम्मेवारी सबै दलको भएको भन्दै राप्रपाले त्यसको सुरुवात गरिसकेको उल्लेख गरे। “नयाँ पुस्तामा नेतृत्व रुपान्तरणको अध्याय हामी राप्रपाले प्रारम्भ गर्यौं, दुई कार्यकाल पनि हामी नै कार्यान्वयन गर्छौं,” उनले लेखेका छन् ।