
भर्खरै प्रदर्शनमा आएको बलिउड फिल्म ‘सैयारा’ले बक्स अफिसमा उल्लेख्य सफलता हासिल गरेको छ ।
कमाइ मात्र होइन, दर्शकको मन जित्नमा पनि फिल्मले प्रशंसा बटुलेको छ । विशेष गरी १५ देखि ३० वर्ष उमेर समूहका दर्शकमाझ यसको क्रेज तीव्र देखिएको छ ।
फिल्म हेरेपछि सामाजिक सञ्जालमा दर्शकले तीव्र प्रतिक्रिया जनाइरहेका छन् । कसैले रोइरहेको भिडियो पोस्ट गरेका छन् भने कसैले हलमै प्रेम प्रस्ताव गरेको दृश्य भाइरल भएको छ । कतिपयले त फिल्मका सिनहरू हलमै दोहोर्याए अभिनयसमेत गरेका छन् ।
यस्तैबीच, एउटा अनौठो घटना अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ एक युवती ‘सैयारा’ फिल्म हेर्न आफ्ना ब्वायफ्रेन्डसँग हल गएकी थिइन् । तर, त्यही बेला उनका अर्का ब्वायफ्रेन्ड पनि हलमै देखा पर्दा स्थिति तनाबपूर्ण बन्यो ।
घटना भारतको लखनउस्थित एउटा सिनेमा हलमा भएको हो । युवती दुई ब्वायफ्रेन्ड राखेको खुलेपछि दुवैबीच विवाद बढ्यो । झगडा चर्किन थालेपछि हलमा प्रहरी बोलाउनुपरेको जनाइएको छ ।
प्रहरीको उपस्थितिले दर्शकमाझ कौतूहल बढ्यो । ‘कसलाई पक्राउ गर्न आएको हो?’ भन्ने जिज्ञासासमेत हलभित्र फैलिएको थियो ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रयोगकर्ताहरूले विभिन्न किसिमका व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् ।
एक जनाले लेखेका छन्, ‘केटी सैयारा हेर्न आफ्नो दोस्रो सैयारालाई छाडेर आइछन् ।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘अब प्रहरीले केटीलाई समाउने हो त ?’
तेस्रो प्रतिक्रियामा भनिएको छ, ‘यो घोर कलियुग हो! प्रहरीले तुरुन्तै यस्तो केटीलाई पक्राउ गर्नुपर्छ, ताकि यस्ता घटना फेरि नदोहोरिऊन् ।’