
नेपाल र भारतबीच डोपिङ नियन्त्रणमा क्षेत्रीय सहकार्य विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय बैठक सम्पन्न भएको छ। भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा इन्डिया)को केन्द्रीय कार्यालयमा सम्पन्न संवादमा नाडा नेपालका संस्थापक संयोजक डा. असीम भण्डारी र नाडा इन्डियाका महानिर्देशक तथा सीइओ आनन्द कुमारबीच छलफल भएको हो।
भेटवार्तामा भारतले डोपिङविरुद्ध आफ्नो प्रारम्भिक संघर्ष, स्रोतको अभाव, सरकारी हस्तक्षेप, महासंघहरूसँगको विश्वासको कमी र विश्व डोपिङ नियन्त्रण संस्था (वाडा)को सदस्यता पाउन व्यहोर्नुपरेको कठिनाइको प्रसंग उल्लेख गरेको थियो । 'एजेन्सी बनाउनु सजिलो हुन्छ, तर विश्वासिलो भएर काम गर्नु चुनौतीपूर्ण हुन्छ,' महानिर्देशक कुमारले छलफलमा भनेका थिए ।
नेपालतर्फबाट डा. असीम भण्डारीले विभिन्न गम्भीर विषयवस्तु उठाए, जसमा कानुनी स्वतन्त्रताको अस्पष्टता, प्रक्रियामा ढिलाइ, गैर–ओलम्पिक महासंघहरूमा सचेतना अभाव, सप्लिमेन्ट प्रदूषण, निजी लिगको अनुगमन अभाव र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित डिजिटल निगरानी प्रणालीको खाँचो उल्लेख थिए।
स्वच्छ खेलकुद केवल उपकरण वा परीक्षणको विषय नभई नैतिकताको सवाल भएको बताए ।
दुवै मुलुकले दक्षिण एसियाली प्रशिक्षण केन्द्र स्थापना, अन्तरदेशीय विशेषज्ञ आदान–प्रदान कार्यक्रम, पारा खेलाडी तथा ग्रामीण क्षेत्रका लागि बहुभाषिक डिजिटल शिक्षा अभियानजस्ता साझा योजनाहरू अगाडि सारेका छन् ।