
सामान्यत: विवाह कुनै पनि व्यक्तिको जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय हो । त्यसैले यो निर्णय लिनुअघि निकै सोचविचार गर्ने गरिन्छ र धेरै कुरालाई ध्यान दिने गरिन्छ, अनि बल्ल बिहे तय हुन्छ ।
तर, भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा अनौठो विवाहको अहिले चर्चा र बहस भइरहेको छ। कुन्हट गाउँकी सुनिता चौहानले एकै घरका साक्खै दुई दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकसाथ विवाह गरेकी हुन् ।
बीबीसी हिन्दीको समाचारअनुसार यो विवाह हाटी समुदायको पुरानो बहुपति प्रथाअन्तर्गत भएको हो, जुन अनुसूचित जनजातिको रूपमा दर्ता गरिएको छ, जसलाई स्थानीय भाषामा 'जोडीदारा' वा 'जजदा' भनिन्छ ।
सिरमौरको ट्रान्स गिरी क्षेत्रमा भएको विवाहमा सयौं गाउँले र आफन्तहरू उपस्थित थिए । परम्परागत परिकार, लोकगीत र नृत्यले यो कार्यक्रमलाई अझ यादगार बनाएको थियो ।
दुलहीको परिवार सिरमौर जिल्लाको कुन्हट गाउँको हो, जुन बेहुलाको गाउँ शिल्लईबाट लगभग १५ किलोमिटर टाढा छ। यो क्षेत्र राज्यको राजधानी शिमलाबाट लगभग १३० किलोमिटर टाढा छ।
दुवै परिवार हाटी समुदायका हुन् । यो समुदाय मूल रूपमा सिरमौर जिल्लाको ट्रान्स गिरी क्षेत्रका साथै उत्तराखण्डको जौनसर-बावर र रवई-जौनपुर क्षेत्रमा बसोबास गर्छ ।
यो समुदायमा बहुपतित्वको प्रथा लामो समयदेखि प्रचलित छ। यस प्रथाबारे जानकार व्यक्तिहरूले यसको उद्देश्य परिवारभित्र आपसी एकता कायम राख्नु र पैतृक सम्पत्तिको विभाजन रोक्नु हो भन्ने विश्वास गर्छन् ।
यस प्रथामा महिलाले दुई वा सोभन्दा बढी दाजुभाइसँग विवाह गर्छिन् र घरेलु जिम्मेवारीहरू आपसी सहमतिमा पूरा गरिन्छ । सिरमौरबाहेक, यो परम्परा शिमला, किन्नौर र लाहौल स्पितिका केही भागहरूमा पनि देखिएको समाचारमा उल्लेख छ ।
जुलाई १२ मा शुरू भएको यस विवाह समारोहको एउटा पक्ष यो हो कि दुलही र उनका पति दुवै शिक्षित छन् । दुलही सुनिता चौहानले आईटीआई अध्ययन गरेकी छिन्।
प्रदीप नेगी राज्य सरकारको जल शक्ति विभागमा काम गर्छन् र कपिल नेगी विदेशमा आतिथ्य क्षेत्रमा काम गर्छन् । 'यो मेरो आफ्नै निर्णय थियो। मलाई यो परम्पराबारे थाहा थियो। मैले यसलाई अपनाएँ,' सुनिताले बीबीसी हिन्दीसँग भनेकी छन् ।
यसैगरी दुलाह प्रदीप भन्छन्, 'हाम्रो संस्कृतिमा यो विश्वास, हेरचाह र साझा जिम्मेवारीको सम्बन्ध हो। विदेशमा बसे पनि म यो सम्बन्धप्रति प्रतिबद्ध छु र मेरी श्रीमतीलाई स्थायित्व र माया दिन चाहन्छु।'
विज्ञहरूका अनुसार जोडी-दाराको प्रथा अब पहिलेको तुलनामा धेरै कम भएको छ । यो प्रथा अहिले केही गाउँहरूमा मात्र देखिन्छ र धेरैजसो विवाहहरू कुनै पनि हल्लाबिना हुन्छन् ।
यद्यपि, सामाजिक सञ्जाल र हाती समुदायलाई दिइएको अनुसूचित जनजातिको दर्जाका कारण हालैको यो विवाहले व्यापक ध्यान आकर्षित गरेको हो ।
हाती समुदायको कुल जनसंख्याबारे कुनै आधिकारिक तथ्याङ्क छैन । तर जब केन्द्र सरकारसमक्ष समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्ने माग राखिएको थियो, अनुमानित जनसंख्या २.५ देखि ३ लाखको बीचमा रहेको भनिएको थियो ।