
अखिल नेपाल टेबलटेनिस संघले दक्षिण एसियाली क्षेत्रीय विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्ने भएको छ ।
एसियन टेबलटेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार संघले यसै महिना काठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप आयोजना गर्ने लागेको जानकारी दिएको हो ।
प्रतियोगिता यही साउन १४ र १५ गते लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालसँगै भारत, श्रीलंका, बंगलादेश र माल्दिभ्सका खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा भारतबाट १० खेलाडी र तीन पदाधिकारी, श्रीलंकाबाट आठ खेलाडी र दुई पदाधिकारी, बंगलादेशबाट आठ खेलाडी र तीन पदाधिकारी तथा माल्दिभ्सबाट आठ खेलाडी र तीन पदाधिकारीको सहभागिता रहने बताइएको छ ।
नेपालबाट पनि आठ खेलाडी र पाँच जना पदाधिकारीले प्रतियोगितामा सहभागिता जनाउने छन् । प्रतियोगितामा पुरुष टिम र महिला टिम स्पर्धा समावेश गरिएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा पहिलो हुने टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ मा सहभागिता जनाउने अवसर पाउनेछ ।