
अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी)ले चीनको न्याय मन्त्रालयद्वारा प्रायोजित एक विवादास्पद साइन्स जर्नल ‘फरेन्सिक साइन्सेस रिसर्च (एफएसआर)’को प्रकाशन बन्द गर्ने निर्णय गरेको छ ।
जर्नलमा प्रकाशित केही लेखहरूमा डीएनए सङ्कलन सम्बन्धी नैतिक मापदण्ड पूरा नगरेको भेटिएपछि अक्सफोर्ड यो कदम चाल्न बाध्य भएको बताइएको छ ।
‘द गार्डियनक’ अनुसार यो जर्नल चीनको न्याय मन्त्रालयअन्तर्गतको निकाय एकेडेमी अफ फरेन्सिक साइन्सद्वारा सञ्चालित छ ।
जर्नलको पृष्ठभूमि र विवाद
फरेन्सिक साइन्सेस रिसर्च चीनको फरेन्सिक विज्ञान क्षेत्रको एकमात्र अङ्ग्रेजी भाषाको त्रैमासिक जर्नल हो, जुन सन् २०१६ मा स्थापना भएको थियो ।
सन् २०२३ देखि ओयूपीले यो जर्नल प्रकाशन गर्दै आएको छ । एकेडेमी अफ फरेन्सिक साइन्सले यो जर्नललाई फरेन्सिक चिकित्सामा केन्द्रित रहेको बताएको छ ।
तर, यसमा प्रकाशित केही लेखहरूले उइघुर र अन्य अल्पसङ्ख्यक समुदायहरूको आनुवंशिक डेटा प्रयोग गरेको भन्दै आलोचना खेप्दै आएको छ ।
जर्नलमा प्रकाशित यी लेखहरूमा विशेषगरी चीनको सिन्जियाङ क्षेत्रका उइघुर समुदायको डीएनए नमुनाहरूको अध्ययन समावेश छ ।
आलोचकहरूले यी नमुनाहरू स्वतन्त्र सहमतिमा सङ्कलन नभएको र यस्ता अध्ययनले उइघुरहरूमाथिको राज्य निगरानीलाई बल पुग्ने बताएका छन् ।
सन् २०२० मा जर्नलमा प्रकाशित एक लेखले सिन्जियाङको राजधानी उरुम्छीका २६४ उइघुरहरूको रगत नमुनाको विश्लेषण गरेको थियो ।
लेखमा सहभागीहरूले अनुसन्धानका लागि सहमति दिएको र तिनीहरूको डेटा गोप्य राखिएको दाबी गरिएको छ ।
तर, यो अनुसन्धानका प्रमुख लेखक सिन्जियाङ पुलिस कलेजसँग सम्बद्ध रहेको भेटिएको थियो । उक्त पुलिस कलेजले नै अनुसन्धानका लागि अनुदान प्रदान गरेको थियो ।
नैतिक चिन्ता
सन् २०२४ मा ओयूपीले उक्त लेखबारे चिन्ताजनक अभिव्यक्ति प्रकाशन गरेको थियो । उक्त अभिव्यक्तिमा सिन्जियाङका उइघुरहरूले चीनको राज्य सुरक्षा निकायका प्रतिनिधिहरूले सञ्चालन गरेको अध्ययनमा स्वतन्त्र रूपमा अस्वीकार गर्न सक्ने सम्भावनामाथि प्रश्न उठाइएको थियो ।
यद्यपि, जर्नलमा प्रकाशित लेख खारेज गरिएको छैन । सन् २०२३ यता ओयूपीले एफएसआरमा प्रकाशित दुई अन्य लेख भने ‘नैतिक चिन्ता’का कारण खारेज गरेको छ ।
यी लेखहरूमा पनि चिनियाँ प्रहरी निकायसँग सम्बद्ध अनुसन्धानकर्ताहरू संलग्न थिए ।
फरेन्सिक विज्ञान अनुसन्धान प्रायः प्रहरी निकायहरूको संलग्नतामा हुने गर्छ । तर, राज्य सुरक्षा निकायमाथि कुनै नियन्त्रण वा सन्तुलनको व्यवस्था नरहेको चीनमा यस्ता अनुसन्धानले अन्तर्राष्ट्रिय नैतिक मापदण्ड पूरा नगर्ने चिन्ता छ ।
सिन्जियाङमा उइघुर समुदायमाथि राज्यले तीव्र निगरानी गरिरहेको छ । सन् २०१६ देखि २०१८ सम्म करिब १० लाख उइघुरहरूलाई चीनले ‘पेशागत तालिम केन्द्र’ भनेर सञ्चालन गरेको शिविरहरूमा हिरासतमा राखिएको अनुमान छ ।
संयुक्त राष्ट्रसङ्घले सिन्जियाङमा चीनको नीतिहरूलाई मानवताविरुद्धको अपराधको रूपमा वर्गीकरण गर्न सकिने बताएको छ ।
डीएनए सङ्कलन र निगरानीको डर
सिन्जियाङका अधिकारीहरूले स्वास्थ्य जाँचको बहानामा लाखौँ उइघुरहरूको डीएनए नमुना सङ्कलन गरेको आरोप उइघुर समुदाय र मानवअधिकार समूहहरूले लगाएका छन् ।
यस्ता नमुनाहरू निगरानी प्रणालीलाई सुदृढ गर्न प्रयोग भएको आशङ्का छ । बेल्जियमको ल्युभेन विश्वविद्यालयका इन्जिनियरिङ प्राध्यापक यभ्स मोरोले ओयूपीको एफएसआरसँगको सम्बन्ध र यस्ता अध्ययनहरूबारे पहिलोपटक चिन्ता व्यक्त गरेका थिए ।
उनले ओयूपीको यो निर्णयको स्वागत गरे पनि जर्नलको वेबसाइटमा प्रकाशित संक्षिप्त वक्तव्यले यो मुद्दाको गम्भीरतालाई सम्बोधन नगरेको बताए ।
मोरोले भने, ‘फरेन्सिक जेनेटिक्स एक यस्तो क्षेत्र हो जहाँ विशेष सावधानी आवश्यक छ, किनकि यो अनुसन्धानले प्रहरीको डीएनए पहिचान र डेटाबेसलाई शक्ति प्रदान गर्छ । डीएनए पहिचान अपराध समाधानमा उपयोगी भए पनि यसले गोपनीयता र नैतिक मुद्दा खडा गर्छ ।’
उनले सिन्जियाङ र तिब्बतमा अल्पसङ्ख्यक समुदायमाथिको व्यापक निगरानीले चीनमा अन्तर्राष्ट्रिय नैतिक मापदण्ड लागू गर्न चुनौतीपूर्ण रहेको बताए ।
ओयूपीको निर्णय र भविष्य
ओयूपीले सन् २०२३ मा यो जर्नल प्रकाशनको जिम्मेवारी लिएको थियो । द गार्डियनले हेरेको प्रकाशन सम्झौताअनुसार ओयूपीले जर्नलमा सशुल्क विज्ञापन सङ्कलन गर्न र एकेडेमी अफ फरेन्सिक साइन्सले प्राप्त गर्ने राजस्व सङ्कलन गर्ने अधिकार प्राप्त गरेको थियो ।
सन् २०२५ को अन्तिम अङ्क (भोल्युम १०, अङ्क ४)पछि ओयूपीले यो जर्नल प्रकाशन गर्ने छैन । त्यसपछि यो जर्नलको प्रकाशन केएआईले लिनेछ, जुन डच वैज्ञानिक प्रकाशक एल्सेभियर र एक चिनियाँ साझेदारद्वारा सञ्चालित संयुक्त उपक्रम हो ।
ओयूपीले यो सम्बन्ध अन्त्य गर्नुको कारणबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ । यद्यपि, पछिल्ला वर्षहरूमा चीनबाट प्रकाशित आनुवंशिक अनुसन्धान लेखहरूको नैतिक मापदण्डमाथि बढ्दो छानबिन भएको छ ।
गत वर्ष एक प्रमुख वैज्ञानिक प्रकाशकले मानवअधिकार चिन्ताका कारण चीनबाट प्रकाशित १८ लेखहरू खारेज गरेको थियो ।
यी चिन्ताहरू विशेषगरी कमजोर समुदायहरूले अनुसन्धानमा सहभागिता अस्वीकार गर्न सक्ने स्वतन्त्रतामाथि केन्द्रित छन् ।
जर्नलको सम्पादकीय स्वतन्त्रता
सन् २०१६ मा एफएसआरको स्थापना हुँदा यसको सम्पादकीयमा यो जर्नल चीनको न्याय मन्त्रालयको सहयोगी निकायद्वारा प्रायोजित भएको उल्लेख थियो ।
जर्नलका सह-प्रमुख सम्पादक डुआर्टे नुनो भिएराले विगतमा यो प्रायोजनले सम्पादकीय नीतिमा कुनै प्रभाव नपारेको दाबी गरेका थिए ।
तर, हालैको एक लेखमा सम्पादकहरूले जर्नललाई ‘परिवर्तनको क्षण’मा रहेको र ‘उज्ज्वल भविष्य’तर्फ अघि बढिरहेको बताएका छन् । भिएराले यो विषयमा टिप्पणी गर्न अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।