१३ असार २०८३, शनिबार

एकाएक हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि...

साउन १३, २०८२
सिन्धुली
एकाएक हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि...

साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए ।

त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जङ्गल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । परिवारका साबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकीन जानकारी आउन सकेन ।
 
यही साउन ६ गते खुर्काेटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ । त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त ग¥यो । 
वर्षात्को मौसम भएकाले विपद्मा पर्नसक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो की भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो ।

सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौँडा, मुङ्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ । हायु परिवारलाई पोखरा पु-याएर त्यहाँस्थित जननी होटलमा छोडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो ।

सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायु परिवारका सबै जना पोखरा प्रहरीको सम्पर्कमा आएका छन् ।

उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ । सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्ष मुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन् । 

अन्य सदस्यहरू कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायुलाई पनि यकीन गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेकाले थाकथलो छाडेको उनीहरुको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्