
एनआईसी एसिया बैंकले आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा 'NIC ASIA ATHOT Loan Against Share'को आकर्षक कर्जा योजना सार्वजनिक गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।
उनका अनुसार यस योजनामा औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप गरिनेछ । गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रूपमा रहेको शेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।
ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत न्यूनतम् ५० लाखदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रूपमा कर्जा प्रदान गर्ने रणनीति अनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भएपश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।