२४ जेठ २०८३, आइतबार
पोखरामा हायू परिवार

‘आफ्नै तरिकाले जिन्दगी बिताउन हिँडेका हौं, समाचार आएपछि घरबेटीले निकालिदिए’

साउन १३, २०८२
पाेखरा
‘आफ्नै तरिकाले जिन्दगी बिताउन हिँडेका हौं, समाचार आएपछि घरबेटीले निकालिदिए’

बालबच्चा बेलाबेला बिरामी भइरहन्थे । बसिरहेको घर अनकन्टार ठाउँमा थियो । नजिकका छिमेकी १५ मिनेटभन्दा टाढाको दूरीमा थिए । अनि ५२ वर्षीया उर्मिला हायूलाई ३० वर्षदेखि बसेको आफ्नो थातथलो छोड्न मन लाग्यो । त्यसैले शनिबार मध्यरात (बिहान १ बजे) घरमूली उर्मिला आफूसहित परिवारका १५ सदस्य लिएर बासस्थानका लागि नयाँ ठाउँ खोज्न हिँडिन् ।

तर, सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ को हायू परिवार सम्पर्कविहीन भएको खबर सोमबार दिउँसो एकाएक देशभर फैलियो । उर्मिलासहित उनका सबै परिवार अचानक गायब भएको खबरपछि सुरक्षा संयन्त्र खोजी कार्यमा लाग्यो । सिन्धुलीबाट सम्पर्कविहीन भएका उनीहरू करिब ३ सय ५७ किलोमिटर टाढा पोखरामा रहेको खबर सोमबार राति नै प्रहरीकोमा पुग्यो । 

पोखरा महानगरपालिका-३०, गगनगौँडामा हायू परिवार रहेको सूचना स्थानीयमार्फत् इलाका प्रहरी कार्यालय सिसुवामा राति करिब साढे ९ बजे पुग्यो । प्रहरी तत्कालै उनीहरू बसेको ठाउँ पुग्यो ।

उनीहरू पोखरा-३० को सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बाँडिएर बसेका थिए । उनीहरूलाई सोधपुछका लागि सिसुवा ल्याइयो । उनीहरू नभेटिँदासम्म अनेक अडकलबाजी लगाउन शुरू भइसकेको थियो । सम्पर्कविहीन हुनुअगाडि लोपोन्मुख समुदायले पाउने जनही १२ हजार रूपैयाँ बुझेको, सुँगुर काटेर खाएको, गाईवस्तु बिच्चली पारेर छोडेको विषयले पनि घटना शंकास्पद बनेको थियो ।

तर, प्रहरीले उनीहरूलाई भेट्दा सबै सकुशल थिए । आफ्नै मर्जीले नयाँ ठाउँ खोज्न पोखरा आइपुगेको प्रहरीलाई बयान दिए । हायू परिवारले आफ्नो खुशीले घर छोड्नुको कारण पनि प्रहरीलाई बताए । बच्चाबच्ची बेलाबेला बिरामी परिरहने कारणले परिवारले सो स्थान छोड्न चाहेको कास्की प्रमुख श्याम बाबु ओलियाले सुनाए ।

‘हामी बस्ने ठाउँ एकान्तमा छ ।  बालबच्चाहरू पटक-पटक बिरामी भइराख्थे । त्यो ठाउँ त्यति उपयुक्त नहुने लागेर हामीले नयाँ ठाउँ खोजेको हो । काम पनि खोज्ने गर्ने भनेर हामी आफूखुशी आएका हौं’, हायू परिवारको भनाइ उद्धृत गर्दै एसपी ओलियाले भने ।

हायू परिवार १० गते शनिबार पोखरा लेकसाइड आएर होटल जननीमा बसेका थिए । आइतबार उनीहरू चेकआउट गरेर लेखनाथ पुगे । उनका आफन्त पर्ने धनबहादुर तामाङ मुग्लिन-पोखरा सडकखण्डमा काम गरिरहेका छन् । प्रहरीका अनुसार उनकै सम्पर्कमा रहेर पोखरा आएको देखिन्छ । कोठा खोज्ने सहयोग पनि उनै धनबहादुरले गरेको प्रहरीको भनाइ छ ।

उर्मिलाका श्रीमान् तीन वर्षअघि बितेका थिए । त्यसपछि उनको परिवार  ऋणमा डुबेको विषय बाहिरिएको थियो । तर, आफ्ना विषयमा उनीहरू खुलेर बोल्न नचाहेको एसपी ओलियाले बताए । 

‘उहाँहरूले धेरै बोल्न, कुरा गर्न अलि इन्कार गरिरहनुभएको छ । उहाँहरूले आफ्नो सबै कुरा बताउन चाहनु भएको थिएन’, एसपी ओलियाले थपे ।

अर्का एक प्रहरी अधिकारीका अनुसार हायू परिवार बस्दै आएको सिन्धुलीको घर उनीहरूको नाममा छैन । तर, उनीहरूका नाममा अर्को स्थानमा जग्गा भने छ । ती अधिकारीका अनुसार हायू परिवारको नाममा करिब दुई लाख ऋण छ । यद्यपि, आफ्नो जग्गा बेचेर ऋण तिर्न सजिलै सक्ने भएकाले आफूहरू ऋणका कारण थातथलो नछोडेको उनीहरूले प्रहरीलाई सुनाएका छन् ।

मंगलबार पोखरामा रहेका केही सञ्चारकर्मीसँग उर्मिलाले आफूहरू पहिल्यैदेखि नै पोखरा आउन चाहेको सुनाइन् । ‘आउन पहिल्यैदेखि खोजेको हो । यहीँ बस्न मन छ । कोठा खोज्दैछौं’, उर्मिलाले भनिन् ।

उनीहरूको परिवार पोखरा नै बसोबास गर्ने मनसायले थातथलो छोडेर आएको बुझिन्छ । यसका लागि उनीहरूले काम पनि खोजिरहेका छन् । प्रहरीलाई पनि आफूहरूले यही स्थानमा बस्न चाहेको सुनाएका छन् । आफ्नै खुशीले पोखरा आएका हायू परिवारले समाचार सार्वजनिक भएपछि पाएको कोठा पनि गुमाएका छन् ।

‘हिजो यहाँबाट सरहरू (प्रहरी) जानुभयो । त्यही भएर त्यहाँबाट निक्लेऊ (घरबेटीले) भन्नुभएको छ । हामीले त नराम्रो सोचेको पनि थिएन । उहाँहरूले नराम्रो सोच्नुभयो क्यारे’, उर्मिलाले भनिन् ।

बिहान तालबाराही घुम्न गएको परिवार दिउँसो करिब साढे २ बजेतिर कुराकानीका लागि सिसुवा प्रहरी कार्यालय आइपुगेका थिए । सोही भेटमा रहेकी उर्मिला सकेसम्म बोल्नै नपरे हुन्थ्यो भन्ने मुडमा थिइन् । प्रहरीसँग कुराकानी गरेर निस्किएपछि सञ्चारकर्मीसँग थोरै कुराकानी गरेकी उर्मिलाले रहरले पोखरा आएको दोहोर्‍याइन् । 

‘कोठाबाट निकालिनुभयो । कोठा खोज्न पनि गाह्रो छ ।  यसबेलासम्म (दिउँसो करिब साढे २ बजेसम्म) हामीले खाना पनि खाएका छैनौं । हामी यहाँ अपर्झट त्यस्तै के कारणले आयौं । आउनलाई रहर पनि थियो । त्यसैले आएका हौं । घर सबै त्यागेर आएका हौं । के बोल्नुपर्‍यो अब, के बोल्ने ?’, उनले भनिन् ।

उर्मिलाका छोरा राजुले केही समस्या नभई आफ्नो तरिकाले पोखरा आएको सुनाए । ‘पोखरा आएर अलिअलि घुमिएछ । त्यस्तो समस्या खासै छैन । हामी आफ्नो जिन्दगी आफ्नो तरिकाले बिताउने भनेर हिँडेको हो’, राजुले भने ।

राष्ट्रिय जनगणना सन् २०७८ का अनुसार नेपालभर ३ हजार ५९ हायू जाती छन् । सरकारले उनीहरूलाई लोपोन्मुख समुदायमा राखेको छ । २०२४ को एक अनुसन्धान पत्रका अनुसार चरम गरिबी र कठिन जीवनयापनका कारण हायू आदिवासी समुदाय आफ्नो परम्परागत मातृभूमि छोड्न बाध्य भएका छन् । उनीहरूको कमजोर स्थितिको कारणले गर्दा हायूको भाषा र रितीरिवाज गुम्ने खतरामा रहेको सो अध्ययनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्