
काठमाडौं, २४ मंसिर - निर्वाचनको अन्तिम मतपरिणाम आइरहँदा वाम गठबन्धनको वर्चश्व कायम रहेका छ । मंसिर १० र २१ गरी दुई चरणमा भएको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ जना सांसद निर्वाचन हुनेछन् भने ३ सय ३० जना प्रदेशसभामा निर्वाचित हुनेछन् ।
अन्तिम नतिजा अनुसार प्रतिनिधिसभामा ७७ जना विजयी भइसकेका छन् । जसमध्ये वामगठबन्धनको प्रमुख पार्टी नेकपा एमालेको पक्षमा ५० सिट परेको छ । यसैगरी वामगठबन्धनको अर्को पार्टी नेकपा माओवादी केन्द्रले १५ सिट हात पार्दा नेपाली काँग्रेसले जम्मा सिट जितेको छ । प्रतिनिधिसभामा नयाँ शक्ति नेपालले १ सिट जितेको छ ।
७ वटै प्रदेशमा वाम गठबन्धनकै उम्मेद्वार अग्रस्थानमा रहेका छन् । अहिलेको सम्मको नतिजा यस्तो देखिन्छ ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ अन्तर्गत पूर्वी नेपालका १४ जिल्ला रहेका छन् । जसमध्ये उच्च पहाडी भुभागमा पर्ने सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङमा मंसिर १० गते पहिलो चरणमा चुनाव भएको थियो भने बाँकी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा मंसिर २१ गते चुनाव भएको थियो । दुवै चरणमा भएका चुनावको नतिजा धमाधम सार्वजनिक भइरहँदा वामगठबन्धनका उम्मेद्वार अग्रस्थानमा रहेका छन् । प्रदेश नम्बर १ बाट प्रदेशसभा सदस्यका लागि मैदानमा रहेका दलहरुमध्ये अहिलेसम्म नेकपा एमालले १३ सिट जितिसकेको छ भने १३ स्थानमै अग्रस्थानमा रहेको छ । वामगगठबन्धनको अर्को प्रमुख दल नेकपा माओवादी केन्द्रले अहिलेसम्म ५ सिट जितेको छ भने ५ सिटमै अग्रस्थानमा रहेको छ ।
जारी मतगणनाको नतिजा आइरहँदा कमजोर देखिएको नेपाली काँग्रेसले अहिलेसम्म प्रदेश नम्बर १ को प्रदेशसभा सदस्यमा अहिलेसम्म ४ सिट जितेको छ भने १ मा अग्रस्थानमा रहेको देखिन्छ ।
प्रदेश नम्बर १ मा प्रदेशसभा सदस्यका लागि मैदानमा रहेका अन्य दलहरुको अवस्था शुन्य देखिएको छ ।
प्रदेश नम्बर २
मध्य तराईका जिल्लाहरु समेटिएको प्रदेश नम्बर २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी ८ जिल्ला रहेक छन् । तराई मधेशलाई केन्द्र बनाएर राजनीति गरिरहेका दलहरुको चर्चा रहेको २ नम्बर मा भने मधेश केन्द्रित राजनीतिक दलको वर्चश्व देखिन्छ ।
प्रदेश नम्बर २ मा अहिलेसम्म संघीय फोरमले प्रदेशसभामा ५ सिट जितेको छ भने ५ मा अगाडि रहेको छ । अर्को मशेशकेन्द्रित दल राजपा नेपालले २ सिट जितिसिकेको छ भने ४ सिटमा अग्रस्थानमा देखिएको छ ।
यद्यपि प्रदेश नम्बर २ मा वाम गठबन्धनले राम्रै नतिजा देखाइरहेको छ । अहिलेसम्मको नतिजा हेर्दा वाम गठबन्धनतर्फका नेकपा एमालेले २ सिटमा जित हाँसिल गरिसकेको छ भने ५ स्थानमा अग्रस्थानमा देखिएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट जितेको छ भने ६ स्थानमा अगाडि देखिएको छ ।
यो क्षेत्रमा पनि नेपाली काँग्रेस कमजोर देखिएको छ । काँग्रेसले अहिलेसम्म २ सिटमा जीत र २ मा अगाडि रहेको छ । अन्य दलहरुले भने प्रदेश नम्बर २ मा खाता खोल्न सकेका छैनन् ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर ३ मा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर सहित नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकसहित १३ जिल्ला समेटिएका छन् । यो प्रदेशमा वाम गठबन्धन अग्रस्थानमा रहेको छ । अहिलेसम्मको नजिता हेर्दा प्रदेशसभामा नेकपा एमालले १९ सिट जितिसकेको छ भने १४ स्थानमा अग्रस्थानमा रहेको छ । वामगठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले ६ सिट जितेको छ भने ६ स्थानमै अगाडि रहेको छ ।
नेपाली काँग्रेस प्रदेश नम्बर ३ मा अत्यन्तै कमजोर अवस्थामा रहेको छ । अहिलेसम्म काँग्रेसले ५ सिट जितेको छ भने ३ स्थानमा अगाडि छ । प्रदेश नम्बर ३ मा नयाँ शक्ति नेपालले १ सिट जितेको छ भने अन्य दलहरुले खाता नै खोलेका छैनन् ।
प्रदेश नम्बर ४
प्रदेश नम्बर ४ अन्तर्गत पर्ने मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पुर्वी नवलपरासी, तनँहु, कास्की, स्याङ्जा पर्वत गरी ११ वटा जिल्लामा पनि वाम गठबन्धनको वर्चश्व कायम रहेको छ । यो प्रदेशमा नेकपा
एमालेले अहिलेसम्म १० सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम राखेको छ । यसैगरी माओवादी केन्द्रले ४ सिट जितेको छ भने ४ स्थानमा अग्रस्थान कायम राखेको छ ।
प्रदेश नम्बर ४ मा नेपाली काँग्रेसले ३ सिट जितिसकेको छ भने ५ सिटमा अग्रता लिइरहेको छ ।
यसबाहेक प्रदेश नम्बर ४ मा नयाँ शक्ति नेपालले १ सिट हात पारेको छ भने १ सिट स्वतन्त्र उम्मेद्वारको पोल्टामा परेको छ । अन्य कुनै पनि पार्टीले खाता खोल्न सकेका छैनन् ।
प्रदेश नम्बर ५
प्रदेश नम्बर ५ अन्तर्गत पर्ने पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके, बर्दिया, पूर्वी रूकुम र रोल्पामा पनि वाम गठबन्धनको वर्चश्व कायम रहेको छ । अहिलेसम्मको नतिजा हेर्दा
यो प्रदेशमा नेकपा एमालेले ९ सिट जितिसकेको छ भने १६ स्थानमा अग्रता लिइरहेको छ । प्रदेशनम्बर ५ मा माओवादी केन्द्रले अहिलेसम्म ११ सिट जितिसकेको छ भने ४ स्थानमा अग्रता लिइरहेको छ ।
यो प्रदेशमा मैदानमा देखिएका अन्य दलहरुले खाता खोल्न सकेका छैनन् भने १ स्थानमा राजपा नेपालले अग्रता ल्इिरहेको देखिएको छ ।
प्रदेश नम्बर ६
प्रदेश नम्बर ६ मा पर्ने पश्चिम रूकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, सल्यान, सुर्खेत र दैलेखमा पनि वाम गठबन्धन नै अगाडि छ । यो प्रदेशमा अहिलेसम्म नेकपा एमालले १० सिट जितेको छ भने २ सिटमा अगाडि रहेको छ यसैगरी माओवादी केन्द्रले अहिलेसम्म ६ सिट जितेको छ भने १ स्थानमा अग्रता कायम राखेको छ । नेपाली काँग्रेसले भने १ सिटमा जीत र १मा अग्रता लिइरहेको छ । प्रदेश नम्बर ६ मा प्रदेशसभाका लागि मैदानमा रहेका अन्य कुनै पनि पार्टीले खाता खोलेका छैनन् ।
प्रदेश नम्बर ७
पश्चिम नेपालमा पर्ने ९ वटा जिल्ला कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम, डोटी, दार्चुला, बझाङ, बाजुरा र वैतडीमा वाम गठबन्धन बलियो देखिएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेशका रुपमा चासोका साथ हेरिएको यो प्रदेशमा पनि नेपाली काँग्रेस अत्यन्तै कमजोर अवस्थामा रहेको छ । नेपाली काँग्रेसले अहिलेसम्म प्रदेशसभामा १ सिट मात्रै जितेको छ भने ३ स्थानमा अगाडि देखिएको छ ।
अहिलेसम्मको जतिजा हेर्दा एमालले ५ सिट जितेको छ भने ८ स्थानमा अग्रता कायम राखेको छ । माओवादी केन्द्रले अहिलेसम्म ३ सिट जितिसकेको छ भने ७ स्थानमा अग्रता कायम राखेको छ ।
प्रदेश नम्बर ७ मा अन्य कुनै पनि दलले खाता खोलेका छैनन् ।