
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली सुन र विदेशी मुद्राको प्रलोभन देखाएर ठगी तथा लुटपाट गर्दै आएका समूहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरू विशेषगरी महिला तथा वृद्धहरूलाई लक्षित गरी नक्कली सुनलाई सक्कली सुन भन्दै प्रलोभन देखाउने, आफूलाई आर्थिक समस्यामा परेको व्यक्ति बताउँदै सस्तो मूल्यमा सुन वा विदेशी मुद्रा बेच्ने नाटक गरेर ठगी गर्ने कार्यमा संलग्न थिए।
उनीहरूले फरक–फरक समयमा छ जना सर्वसाधारणलाई सोही तरिकाले झुक्याएर साथमा रहेको सुनका गरगहना तथा नगद रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै, केही घटनामा एक–दुई थान सक्कली नोट देखाएर सोही साइजको कागजको बिटो विदेशी मुद्रा भएको भन्दै साउदी रियाल र अन्य देशका नोट सस्तोमा दिने लोभ देखाई ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुलीको दुधौली नगरपालिका–१० कोकटी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–६ मा बसोबास गर्दै आएका ४७ वर्षीय बिमल तामाङ, सिन्धुलीकै दुधौली नगरपालिका–१२ घर भई हाल काठमाडौंको बालुवाखानीमा बस्ने ३९ वर्षीय लालबहादुर घिसिङ र खोटाङको दिक्तेल मझुवागढी नगरपालिका–१४ बुईपा घर भई हाल भक्तपुरको लोकन्थलीमा बसोबास गर्दै आएका ३९ वर्षीय भक्तबहादुर गदाल बि.क. छन्।
प्रहरीले उनीहरूबाट ठगी तथा लुटपाटमा प्रयोग गरिएको ना.५७ प १५१६ नम्बरको स्कुटर, चार थान नक्कली सुनका ढिक्का र सुन पसलबाट बरामद गरिएको सुनजस्तो देखिने १७.६ ग्राम तौलको पहेँलो धातु बरामद गरेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।