०२ साउन २०८३, शनिबार

‘बलात्कार पीडित’ युवतीविरुद्ध आपराधिक लाभमा मुद्दा दर्ता

साउन १४, २०८२
काठमाडौं
‘बलात्कार पीडित’ युवतीविरुद्ध आपराधिक लाभमा मुद्दा दर्ता

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (झा)ले आफूलाई बलात्कार गरेको भनेर जाहेरी दिएकी युवतीविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

अहिराजको जाहेरीको आधारमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । ती युवतीमाथि आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा मुद्दा दायर भएको छ । 

मेडिकल शिक्षाका लागि अध्ययन गर्न युवतीले पैसा मागेको, आफूले नदिएपछि धम्की दिएको र त्यसपछि उनको खातामा तीन लाख रूपैयाँ पठाइदिएको अहिराजको जाहेरीमा उल्लेख छ । 

युवतीकै जाहेरीका आधारमा मंगलबार मात्रै अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो । जसमा बुधबार जिल्ला अदालतमा थुनछेक बहस भयो । जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरिसकेको छ ।

युवतीले भने सरकारी वकिलसँगको बयानमा आफूलाई अहिराजले २० लाखको चेक समेत देखाएको र मुद्दा फिर्ता गर भन्दा आफूले नमानेको उल्लेख गरेकी छन् । 

यसअघि झाले जिल्ला प्रहरी परिसर काठमाडौंमा आपराधिक लाभ (एक्सटर्सन)को जाहेरी दर्ता गराएको तर, त्यसमा प्रहरीले कुनै कारबाही अघि नबढाएको सरकारी वकिलसँगको बयानमा भनेका थिए । 

पीडित युवतीले भने २०८१ जेठ ४ गते आफू डेरामा बसिरहेका बेला अहिराजले कोही नभएको मौका छोपेर मुख थुनेर आफूलाई जबर्जस्ती करणी गरेको बयान दिएकी छन् । 

आफूलाई बलात्कार गर्दा अहिराजले ‘नेपालमा पैसा र पावर हुनेकै कानून छ, तँ मधेशी परिवारको छोरी होस्, यो कुरा बाहिर आयो भने मधेशी समाजले बहिष्कार गर्छ, तँ र तेरो परिवार कहीँ कतै मुख देखाउन लायक हुनेछैन’ भन्दै धम्की दिएको बयानमा उल्लेख गरेकी छन् ।

 युवतीले आफ्नो अस्मिता लुटेर जिउँदो लास बनाउने अहिराजलाई हदैसम्मको कारबाही गरिपाऊँ भन्दै जाहेर दिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्