१२ असार २०८३, शुक्रबार

सुन व्यवासायीले गरे आफ्नै पसलमा काम गर्ने भारतीय कालिगढको हत्या

साउन १४, २०८२
काठमाडौं
सुन व्यवासायीले गरे आफ्नै पसलमा काम गर्ने भारतीय कालिगढको हत्या

काठमाडौंमा एक सुन व्यवसायीले आफ्नै पसलमा काम गर्ने कालिगढको हत्या गरेका छन् । 

नुवाकोट ककनी घर भई गल्कुपाखा बस्ने ४२ वर्षीय श्याम कालिकोटेले भारतको पश्चिम बंगालका ५४ वर्षीय सुव्रता पालको हत्या गरेका हुन् । 

कालिकोटेले काठमाडौं महानगरपालिका-२५ न्ह्योखास्थित एक घरमा बुधबार बिहान करिब २:४५ बजेतिर उनको हत्या गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

कालिकोटेलाई प्रहरीले नयाँ बसपार्कस्थित् एक होटलमा बसिरहेको अवस्थामा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धानमा दुवै  जनाले मादक पदार्थ सेवन गरेको र त्यसपछि विवाद हुँदा हत्यासम्मको घटना भएको देखिएको छ । कालिकोटेले सामान्य विवादमा हत्याको घटना हुन गएको प्रहरीमा बयान दिएका छन् । दुवैजना सँगै मदिरा पिएर पालको कोठामा सुत्न भनेर गएका थिए । 

आफू मालिक भए पनि पालले त्यो अनुसारको व्यवहार नगरेको, होच्याएको निहुँमा हत्या गरेको आरोपीले बयान दिएका छन् । 

‘मलाई अपमान गर्‍यो, मालिकको व्यवहार गरेन । त्यसपछि विवाद हुँदा घटना भयो भनेर बयान दिएका छन् । थप अनुसन्धान भइरहेको छ’, एसपी आचार्यले भने ।  

विवाद भएपछि सुन बनाउन प्रयोग हुने हम्मरले प्रहार गरेर हत्या गरेको आरोपीले बयान दिएका प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्