
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ ।
गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको बुधबारसम्मको अवस्था प्रतिवेदन सार्वजनकि गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो ।
जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ थियो ।
उनका अनुसार यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन्भने मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ ।