
गुल्मी, २४ मंसिर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गुल्मी क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा तर्फ विजयी भएका एमाले सचिव प्रदीप ज्ञवालीलाई बधाई दिएका छन् ।
भण्डारीले गुल्मीको तम्घासमा ज्ञवालीलाई भेटेर हँसिलो मुद्रामा बधाई दिएका हुन् । २०७० सालमा ज्ञवालीलाई हराएर संविधानसभा सदस्य निर्वाचनमा निर्वाचित भएका भण्डारीले यसपालीको संसदीय चुनावमा भने ज्ञवालीलाई हराउन सकेनन् ।
३७ हजार ८ सय १४ मत ल्याउँदै ज्ञवाली प्रतिनिधिसभाका लागि निर्वाचित भएका छन् । प्रतिस्पर्धी भण्डारीले ३० हजार २ सय ५६ मत ल्याए । भण्डारी ७५ सय ५८ मतले पराजित भएका हुन् ।
हारपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भण्डारीले लोकतन्त्रमा जित र हारलाई सहज रुपमा स्वीकार्नुपर्ने र आफूले पनि स्वीकारेको बताएका छन् । उनले यसक्रममा जनताले दिएको मतलाई आफूले नयाँ तरिकाले सोँच्ने समेत बताएका छन् ।
कांग्रेसको नेतृत्वमा कठिन घडिमा निर्माण भएको संविधान कार्यान्वयनको चरणमा स्थानीयदेखि प्रदेश र संघसम्मको निर्वाचन सम्पन्न हुनु खुसीको कुरा भएको उनले बताए । उनले यसलाई देश र जनताको विजयको रुपमा लिनुपर्ने बताएका छन् ।
साथै उनले संविधानसभामा निर्वाचन हुँदै गर्दा जनताले दिएका म्याण्डेट पूरा गरेको समेत बताएका छन् । संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने आफ्नो वाचा अनुसार आफूले वाचा पूरा गरेको उनले बताए । त्यस्तै तराइसँग गुल्मीलाई जोड्ने सिद्धबाबाको बैकल्पिक सडक बनाउने कुरामा पनि केही प्रगति भएको उनले बताए ।

छोटो समयमा आफूले गुल्मीमा शुरु गरेका विकास योजनाहरु नेपालका लागि नमूना हुने कुरामा आफू विश्वस्त रहेको समेत उनले बताए । तथापी गुल्मेली जनताले दिएको मतलाई आफूले सम्मान गरेको समेत उनले बताए ।
उनले चुनाव हार्दै गर्दा आफू दुखी नभएको समेत बताउका छन् । नेपाल जस्ता विकास उन्मुख देशका जनताले विकास, राजनीति र नेतृत्वको सम्बन्धलाई पुनः परिभाषित गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए ।
त्यसका लागि समय अनुसार नेपाली कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्ने उनले बताएका छन् । आफू जितेको चन्द्रभण्डारी भन्दा मतबाट पराजित चन्द्र भण्डारीको रुपमा जनताको दुःख सुखमा साथ साथै रहने उनले बताए ।
भण्डारीले अबको सरकार, नेता र त्यसका कार्यकर्ताले आफूहरुले बनाएको संविधानमा राखेका मौलिक अधिकारको पूर्ण पालना गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।
भोलिका दिनमा क्षमता विहिन नेतृत्व, कलम विहीन पत्रकात्रिता, काम विहीन थोत्रा भाषणमा मत माग्ने प्रवृत्ती अन्त हुनेछ भन्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।
अन्त्यमा उनले जनताको इमानर भरिया बनी बोकिएको बोझिलो भारी विसाउने अवसर दिएकोमा जनतालाई भण्डारीले धन्यवाद समेत दिएका छन् ।