
विश्वका ७० करोड बालबालिकालाई प्रत्यक्ष रूपमा फुटबल खेलसँग जोड्ने लक्ष्यसहित सञ्चालित ‘फुटबल फर स्कूल’ अभियानअन्तर्गत नेपालकेन्द्रित कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा हजारौं स्कूले बालबालिकाको उपस्थितिमा महत्त्वपूर्ण अभियानको शुरूआत गरेका हुन् ।
नेपालमा ‘फुटबल फर स्कूल’ कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्रीले नेपाली खेलकुदको इतिहासमा यो अभियान कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
फुटबलको जर्सीमा सजिएर रंगशालामा उपस्थित भएका स–साना बालबालिकालाई प्रधानमन्त्री ओलीले भविष्यको प्रतिभाशाली खेलाडीको रूपमा सम्बोधन गरे ।
‘खेलकुद क्षेत्रको विकासमा वर्तमान सरकार प्रतिबद्ध छ । तपाइँहरू नै हाम्रो सपना हो । नेपाली खेलकुदका लागि भविष्यको पेले, मेसी र एमबाप्पे पनि तपाइँहरू नै हो,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीले देशका विभिन्न भागमा तीब्र गतिमा खेलकुदका पूर्वाधार तयार भइरहेको बताए । उनले कुनै पनि खेलका लागि पूर्वाधारको अभाव नहुने दाबी पनि गरे ।
‘ऐतिहासिक दशरथ रंगशालाले सबै खेलको भार थेग्न सक्ने अवस्था छैन । त्यसैले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको सुविधासम्पन्न फुटबल रंगशाला तयार हुँदैछ,’ उनले भने ।
प्रधानमन्त्रीसँगै कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतको पनि उपस्थिति थियो ।

कार्यक्रमको स्थानीय आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले ‘फुटबल फर स्कूल’ कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीलाई एन्फाका अध्यक्ष नेम्वाङले मायाको चिनो पनि प्रदान गरे । सोही अवसरमा फिफाका प्रतिनिधिले पनि प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, खेलकुदमन्त्री चौधरी, राखेपका उपाध्यक्ष आचार्य र सदस्यसचिव घिसिङलाई उपहार पनि प्रदान गरेका थिए । दक्षिण एसियामा ‘फुटबल फर स्कूल’ कार्यक्रम सञ्चालन गर्ने नेपाल दोस्रो राष्ट्र हो ।
यो कार्यक्रम सञ्चालन गर्ने पहिलो दक्षिण एसियाली राष्ट्र भने भुटान हो । विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोको पहलमा विश्वभर यो कार्यक्रम शुरू भएको हो । सन् २०१९ देखि शुरू भएको ‘फुटबल फर स्कूल’ कार्यक्रम हाल विश्वका एक सय ३९ राष्ट्रमा सञ्चालित छ ।
फिफाले यो कार्यक्रम संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को)को सहयोगमा अघि बढाएको हो । ‘यो कार्यक्रमको उद्देश्य प्रतिभाशाली फुटबल खेलाडी तयार पार्नुमात्र होइन । बरु, फुटबल खेलको माध्ययमले स–साना स्कूले बालबालिकाको शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनु पनि हो,’ एन्फाका महासचिव किरण राई भन्छन् ।
प्रधानमन्त्रीले बिहीबार शुभारम्भ गरेको ‘फुटबल फर स्कूल’ कार्यक्रमअन्तर्गत नेपालका पाँचदेखि ६ लाख स्कूले बालबालिकालाई फुटबल खेलसँग जोड्ने लक्ष्य रहेको छ । देशका ७७ वटै जिल्लाका एक हजार ६८ विद्यालयमा ३२ हजार ६ सयभन्दा बढी फुटबल वितरण गरिने छ ।

एन्फाका अध्यक्ष नेम्वाङका अनुसार, चारदेखि १४ वर्षसम्मका बालबालिका लक्षित यो अभियानलाई भविष्यमा अझ विस्तार गर्दै लैजाने योजना छ ।
‘यो कार्यक्रमको उद्देश्य फुटबल खेलमार्फत् बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो । भविष्यमा यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगिने छ,’ उनी भन्छन् ।
देशव्यापी रूपमा यो कार्यक्रम सञ्चालनका लागि हाल ४५ जना प्रशिक्षकलाई आवश्यक तालिम दिइएको छ । फिफाबाट आएका प्रतिनिधिले प्रशिक्षकलाई तालिम दिएका हुन् । ती प्रशिक्षकले आ–आफ्नो जिल्लामा रहेका विद्यालयका खेल शिक्षकलाई यो तालिम दिनेछन् ।
त्यसपछि सम्बन्धित विद्यालयका शिक्षकहरूले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । फिफा र युनेस्कोको संयुक्त प्रयासमा शुरू भएको ‘फुटबल फर स्कूल’ कार्यक्रम खेलकुद र शिक्षकसँगै बालबालिकाको स्वास्थ्यसँग पनि जोडिएको छ ।
शुरूमा यो कार्यक्रम सन् २०१९ मा पाइलट परियोजनाका रूपमा पुएर्टो रिको र लेबननमा शुरू गरिएको थियो । त्यसपछि सन् २०२१ मा यो कार्यक्रम विश्वका अन्य राष्ट्रमा विस्तार गरिएको हो ।