०६ साउन २०८३, बुधबार

आईसीसीले दियो नेपाललाई महत्वपूर्ण जिम्मेवारी, महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा

साउन १५, २०८२
काठमाडौं
आईसीसीले दियो नेपाललाई महत्वपूर्ण जिम्मेवारी, महिला टी-२० विश्वकपको ग्लोबल छनोट नेपालमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आईसीसी महिला टी-२० विश्वकपको छनोट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी नेपाललाई दिएको छ । छनोट प्रतियोगिता सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ ।

ग्लोबल छनोट प्रतियोगिता काठमाडौंको तल्लो र माथिल्लो मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने बताइएको छ । छनोट प्रतियोगिताको खेल तालिका भने छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

यो छनोट प्रतियोगिताबाट चारवटा टोलीले सन् २०२६ जुन १२ देखि जुलाई ५ तारिखसम्म इङ्ग्ल्यान्डमा आयोजना हुने महिला टी-२० विश्वकपमा स्थान बनाउने छन् । नेपालमा आयोजना हुने छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

बंगलादेश र आयरल्यान्डले नेपालमा आयोजना हुने छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेको छ । यी दुवै टोलीले सन् २०२४ को टी-२० विश्वकपमार्फत् यो छनोट प्रतियोगितामा स्थान बनाएका हुन् ।

यसका अतिरिक्त नेपाल, थाइल्याण्ड र अमेरिकाले पनि छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् । नेपाल र थाइल्याण्डले एसियाली क्षेत्रको छनोट प्रतियोगिताबाट तथा अमेरिकाले अमेरिकी क्षेत्रको छनोट प्रतियोगिताबाट अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान बनाएका हुन् ।

बाँकी पाँच टोलीको भने टुंगो लाग्न बाँकी छ । बाँकी पाँच टोलीले पनि विभिन्न क्षेत्रको छनोटमार्फत् नेपालमा आयोजना हुने प्रतियोगितामा स्थान पक्का गर्नेछन् । 

नेपालमा आयोजना हुने अन्तिम चरणको प्रतियोगिताका लागि अब अफ्रिका र युरोपबाट दुई–दुई तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक गोल छनोट हुनेछन् ।

विश्वकप छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिने छ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट तीन–तीन टोली ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणको अंक तालिकामा माथिल्लो चार स्थानमा रहने टोली आगामी विश्वकपमा छनोट हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्