
राष्ट्रिका साहित्य प्रतिष्ठानको अध्यक्षमा ऋषभदेव घिमिरे चयन भएका छन् ।
बिहीबार काठमाडौंमा भएको साधारणसभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा डा.शान्तिमाया गिरी, महासचिव मधु पाठक, सचिव सुमन घिमिरे, कोषाध्यक्षमा हरिबोल ढकाल चयन भएका छन् ।
यसैगरी, सदस्यहरूमा सुष्मा आचार्य, छविरमण सिलवाल, डा. सृजना शर्मा र प्रदीप सापकोटा चयन भएका छन् ।
साधारणसभामा संस्कृति संवाद समेत आयोजना गरिएको थियो । संवाद कार्यक्रममा प्राडा. पुरुषोत्तम दाहालले साहित्यलाई संस्कृतिसँग जोड्नु आजको आवश्यकता भएको बताए ।
उनले साउन पन्ध्रको सन्दर्भलाई समेत जोडेर राष्ट्रिकाले कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे । यसैगरी, अर्का वक्ता वरिष्ठ साहित्यकार नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले संस्कृतिको जगेर्ना गर्न जरुरी भइसकेको बताउँदै नयाँ पुस्तालाई समेत साहित्यमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार पवन आलोक, प्राडा. जीवन अधिकारी, चिनिमायाँ माझी लगायतले शुभकामना मन्तव्य राखे ।
मधु पाठकले सञ्चालन गरेको उक्त कार्यक्रमको अध्यक्षता ऋषभदेव घिमिरेले गरेका थिए । कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन समेत पास गरिएको थियो ।