
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र वीरगञ्ज महानगरका अगुवाले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् ।
वीरगञ्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा. किरण पौडेल र वीरगञ्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगञ्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरेको हो ।
वीरगञ्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनःभरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्न अमलेखगञ्ज आएको बताए । 'अमलेखगञ्जको जस्तै प्रविधि अपनाएर वीरगञ्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला,' उनले भने ।
प्रमुख सिंहले वीरगञ्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्न थप सहयोगी हुने अपेक्षा राखेको बताए । 'अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,' उनले भने, 'वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।'
अमलेखगञ्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए ।