०३ साउन २०८३, आइतबार
सरसर्ती २४ घण्टा

आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यदेखि रेशमले बनाए बुबालाई अध्यक्षसम्म

साउन १६, २०८२
काठमाडौं
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्यदेखि रेशमले बनाए बुबालाई अध्यक्षसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ घटाएको छ भने डिजेल तथा मट्टितेलको २ रुपैयाँ बढाएको छ । 

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २१ डलरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आजदेखि लागू भएको छ । 
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिएका हुन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनले विश्वासको मत लिएका हुन । 
००००
उच्च अदालत पाटनले सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । 

न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले महिमानसिंह विष्टसँग १ लाख रूपैयाँ धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेश बिहीबार सदर गरेको हो ।
००००
रानी जमरा कुलरिया सिँचाइ आयोजना लागि सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब ९२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर अर्थात् १८ अर्ब ९२ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले रेशम चौधरीका बुवा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेको छ ।

बिहीबार बानेश्वरमा आयोजित राष्ट्रिय भेलाले लालवीरलाई पार्टी अध्यक्ष बनाउने निर्णय गरेको नाउपा सांसद अरुण चौधरीले लोकान्तरलाई जानकारी दिए । रेशमको योजनामा श्रीमती रञ्जितालाई हटाएर बुबा चौधरीलाई अध्यक्ष बनाइएको हो ।
००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद उत्कर्षमा पुगेको बेला संस्थापक नेता रमेश चौधरीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन । 

बिहीबार देउवासँग भेटेको तस्वीर राख्दै रेशमले ‘राजनीतिक महत्त्वपूर्ण छलफल’ लेखेका छन ।
००००
यसैबीच विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)की रञ्जिता श्रेष्ठले अध्यक्षको हैसियतमा संसदीय दलको नेता गंगाराम चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेकी छिन् ।

बिहीबार श्रेष्ठले चौधरीलाई ३ पेज लामो पत्र पठाएर स्पष्टीकरण सोधेकी हुन् ।
००००
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ । 

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन यही साउन १८ गतेदेखि २३ गतेसम्म तुर्कमेनिस्तानको भ्रमणमा जाने तय भएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि दोहोरो अंकले घटेको छ । 

साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा बन्द भएको हो । अघिल्लो दिन बुधबार परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ को विन्दुमा बन्द भएको थियो ।
००००
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दुई दलका शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेरको विषयमा कुनै छलफल भएन । 

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेतासँग गरेको छलफल मन्त्री फेरबदलको विषयमा केन्द्रित नभएको हो ।

छलफलमा सहभागी भएका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सरकारलाई अझै प्रभावकारी बनाउने विषयमा मात्रै छलफल भएको जानकारी दिए ।
००००
नेकपा एमालेले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार भदौ १५ गतेभित्र सिफारिस गरिसक्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ । 

आगामी कात्तिक १७ गते हुने तय भएको उपनिर्वाचनका लागि भदौ १५ गतेभित्र सम्भावित उम्मेदवार सिफारिस गरिसक्न पार्टी महासचिव शङ्कर पोखरेलले परिपत्र गरेका हुन ।

salt training

कमेन्ट गर्नुहोस्