
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोमा निरीक्षण गरेका छन् ।
ब्यूरोको अवस्था र कार्यशैली बुझ्न शुक्रबार दिउँसो लेखक कोटेश्वरस्थित कार्यालयमा पुगेका हुन् ।
निरीक्षणका क्रममा ब्यूरोका प्रमुख एवं एसएसपी कृष्ण कोइरालाले ब्यूरोको दरबन्दी र गत आर्थिक वर्षमा ब्यूरोले गरेका कार्यसम्पादनका बारेमा ब्रिफिङ गरेका थिए ।
गृहमन्त्री लेखकले ब्रिफिङ सुनेपछि लागुऔषध चुनौतीको रूपमा अगाडि देखा परेको बताए । उनले भने, ‘लागुऔषध दुर्व्यसनी, तस्करी र नियन्त्रण अत्यन्त चुनौतीको रुपमा देखा परेको छ ।’
उनले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध लागुऔषधसँग जोडिँदै गएको बताए । मुलुकलाई लागुऔषध मुक्त गर्न प्रहरीले योजना बनाएर काम गर्नुपर्नेमा उनले जोड दिए ।