२१ असार २०८३, आइतबार

कुलमानलाई राजनीतिमा सक्रिय हुन अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको सुझाव

साउन १६, २०८२
काठमाडौं
कुलमानलाई राजनीतिमा सक्रिय हुन अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुको सुझाव

 हाल अमेरिकाको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकामा बसोबास गरिरहेका पेशाकर्मी, वैज्ञानिक लगायत प्रवासी नेपालीहरुले सक्रिय राजनीतिमा  आउन  सुझाव दिएका छन्।

न्युयोर्कबाट  बोस्टन पुगेका   कुलमान घिसिङले बुधबार दिउँसो   न्यु इङ्गल्याण्डवासीहरूको  सामुदायिक भवन तथा पशुपति बुद्ध मन्दिर पुगेर दर्शन गरे।   साँझ  बोस्टनस्थित बोस्टन तामांग समाज लगायतका संघसंस्थाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा २०० भन्दा बढी नेपाली समुदायका सदस्यहरुको उपस्थिति थियो। उनीहरुले स्वच्छ छविका सक्षम युवाहरुलाई समेटेर अघि बढ्न सुझाव दिंदै आफुहरुको पूर्ण सहयोग हुने पनि बताए।

अन्तरक्रियाको सुरुमा  हार्वर्ड इनोभेसन ल्याब कम्पनीमा कार्यरत  डा. बिष्णु जोशीले   हास्य व्यङ्ग्यात्मक प्रस्तुति "कता हिँडेको बिजुली बालेर?" प्रस्तुत गरेर दर्शकलाई हँसाएका थिए।  डा. जोशीले  '८४ मा घरघर उज्यालो नेपाल अभियान जागोस्, कमिसन खोर दलाल र भ्रष्टलाई करेन्ट लागोस्' भन्दै व्यंग्य गरेका थिए।

हालै  खाडी मुलुकहरुको भ्रमणमा रहेका बेला बहराइनबाट   उज्यालो नेपाल अभियानको घोषणा गरेका घिसिङले  आफू नेपाल विद्युत् प्राधिकरणमा हुँदा ऊर्जाको माग र वितरण बिच सन्तुलन मिलाउन व्यवस्थापन सुधार र चुहावट नियन्त्रण गरेर २०७३ साल कार्तिक १४ गते लक्ष्मीपूजाको दिनबाट लोडसेडिङ मुक्त नेपाल बनाउन गरेको सङ्घर्ष र मिहिनेत बारेमा सुनाए।  उनले  जलविद्युत र ऊर्जामा लगानी गर्दा प्रतिफलको सुनिश्चितता गर्न सकेमात्र  नेपाल ऊर्जा क्षेत्रमा  आत्म निर्भर बन्नसक्ने बताए  ।  उनले उज्यालो अभियान विद्युतको मात्रै उज्यालो नभई देशमा व्याप्त निराशाको अँध्यारो  चिर्ने र आशाको उज्यालो छर्ने अभियानको रुपमा अघि बढ्ने  बताए।  उनले युवाहरुका लागि स्वदेशमै  रोजगारी सृजनाको खाका कोर्ने  र गुरु योजना बनाउने योजना प्रस्तुत गरे । उनले  उज्यालो नेपाल अभियानमा जोडिएर सल्लाह सुझाव दिन सबैलाई अनुरोध पनि गरे।   एक प्रश्नको जवाफमा घिसिङले   आफूले हालसम्म कुनै दलको सदस्यता नलिएको प्रस्ट पार्दै  नियुक्ति गरेको आधारमै कुनै पनि पार्टीसँग नजोड्न आग्रह गरे। उनले प्रवासी नेपालीले मतदान गर्न पाउनु पर्ने संवैधानिक अधिकारको सरकारले कार्यान्वयन गर्नु पर्ने बताए।

 कार्यक्रममा  उपस्थित बुद्धिजीवी तथा नेपाली समुदायका सदस्यहरूले उज्यालो नेपाल अभियानलाई प्रवासबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने लगायतका जिज्ञासा राखेका थिए।

गत आइतबार न्युयोर्कमा आयोजित एक समारोहमा घिसिङसहित विभिन्न अभियन्ताहरुलाई 'ग्लोबल हिरो अवार्ड' द्वारा सम्मानित गरिएको थियो। घिसिङले अगस्ट १- २ अमेरिकाको टेक्सस,  अगस्ट ५-७ वासिङ्टन डिसीमा नेपाली समुदायसँग भेटघाट र अन्तरक्रिया गर्दै अगस्ट  ९   मा  न्युयोर्कमा इन्जिनियरहरूको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  त्यसपछि अगस्ट ११ देखि  २५ सम्म बेलायत लगायत विभिन्न युरोपेली देशहरूको  भ्रमण गर्ने कार्यतालिका रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्