
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना दिएका छन्।
फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध सदियौंदेखि पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित हुँदै आएको बताएका छन्। उनले नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनिरहेको उल्लेख गर्दै मानव जातिको साझा भविष्य र विश्व शान्तिको लागि समेत दुई देशबीचको सहकार्य अझ गहिरो हुने अपेक्षा व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “यस अवसरमा म दुई देशका जनता र सरकारहरुलाई मानव जातिको साझा भविष्य र विश्व शान्तिका क्षेत्रमा थप गहिरो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछु।”
नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको हो। त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण, सहयोग कार्यक्रम र विभिन्न क्षेत्रीय सहकार्यमार्फत सम्बन्धमा निरन्तर सुदृढता आएको छ।