११ असार २०८३, बिहीबार

इलामको पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किलोमिटर दुरी छोटियो

साउन १७, २०८२
इलाम
इलामको पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किलोमिटर दुरी छोटियो

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माणपश्चात मेची राजमार्गको विकल्प खुलेको छ ।

इलाम नगरपालिका–९ र ११ जोड्ने पुवा खोलमा पहिलो पटक बेलिब्रिज निर्माण भएपछि स्थानीय बासिन्दा र झापा–इलाम–पाँचथर–ताप्लेजुङ आवतजावत गर्ने सवारीसाधनका लागि छोटो र सुरक्षित बाटोको विकल्प खुला भएको हो । सागर/सुभारम्भ/एरिसा जेभीले सो बेलिब्रिज निर्माण गरेको हो ।

पुल नहुँदा विगतमा यात्रीहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । विशेष गरी वर्षायाममा सडक पूर्णरूपमा बन्द हुने गर्दथ्यो । सङ्घीय सरकारको रु एक करोड ३५ लाखमा बेलिब्रिज निर्माण गरिएको हो । बेलिब्रिज ४८.६ मिटर लम्बाइको भएको सडक डिभिजन इलामका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले बताए ।

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चहानले बेलिब्रिज निर्माणसँगै झापा–इलाम सवारी आवागमनमा सहजता आएको बताए । 'पहिले हिउँदमा त सडक प्रयोगमा आउँथ्यो, तर वर्षायाममा पूरै बन्द हुने गर्दथ्यो,' उनले भने, 'बेलिब्रिज निर्माणले बाह्रै महिना सवारी आवागमनमा सहज हुने भएको छ ।'​

गत वर्ष पहिरोका कारण दुई साता राजमार्ग बन्द हुँदा यात्रीहरूले ठूलो सास्ती खेपेका थिए । त्यतिबेला वैकल्पिक सडक नहुँदा ताप्लेजुङ, पाँचथर र इलामबाट झापा झरेका यात्रुहरू माई खोला वारीबाट पारीसम्म पैदल र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ आएका यात्री पारीबाट वारीसम्म पैदल हिँडेर गाडी परिवर्तन गरेर गन्तव्यमा पुग्न बाध्य थिए ।

हाल पुवा खोलामा बेलिब्रिज निर्माण भएसँगै मेची राजमार्गको गोलाखर्क खण्डबाट सिधैं केचना–कञ्चनजङ्गा सडक प्रयोग गर्दा ४७ किलोमिटरको दुरीमा झापाको बिर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा ८३ किलोमिटर दुरीमा मात्र बिर्तामोड पुग्न सकिन्छ ।

मेची राजमार्गको वैकल्पिक सडकको रूपमा लिइएको सो सडकअन्तर्गत इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको सडक डिभिजन प्रमुख इञ्जिनियर पवन भट्टराईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्