
सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी आज हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले दुई राउण्ड हवाई फायर गर्दै दुई जनालाई लागुऔषध हेरोइनसहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बडिविरपुरका विशाल राय र डाक्नेश्वरी– ७ का मनोज राय छन् ।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार पक्राउ परेकाहरूको साथबाट एक सय ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद भएको छ ।
प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न खोजेका थिए । सोही क्रममा नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गर्नुपरेको उपरीक्षक केसीको भनाइ छ ।