२२ जेठ २०८३, शुक्रबार

के चीनले रुस, पाकिस्तान र इरानलाई सैन्य सहयोग गरिरहेको छ ?

साउन १९, २०८२
काठमाडौं
के चीनले रुस, पाकिस्तान र इरानलाई सैन्य सहयोग गरिरहेको छ ?
तस्वीर - एआई निर्मित

लामो समयदेखि युद्धरत कुनै पनि पक्षलाई हतियार आपूर्ति नगर्ने र आफ्नो 'हस्तक्षेप नगर्ने' विदेश नीतिको मूल सिद्धान्तलाई पालना गर्ने दाबी गर्दै आएको चीनमाथि पछिल्लो समय युद्धरत पक्षहरूलाई हतियार सहयोग गरेको भन्दै आलोचना हुन थालेको छ ।

विशेष गरी चीनका दुई नजिकका सहयोगी राष्ट्रहरू रुस र पाकिस्तानलाई चीनले सैन्य सहयोग गरेको स्रोतको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

यीमध्ये रुस लामो समयदेखि युक्रेनसँग प्रत्यक्ष युद्धमा छ भने भारत-पाकिस्तानबीच गत मे महिनामा शसस्त्र द्वन्द्वदेखिएको थियो ।

पछिल्लो समय चीनले इरानलाई पनि सैन्य सहयोग गरेको आरोप लागेको छ । चीनविरुद्ध अन्तर्राष्ट्रिय मंचहरूमा छानबिन नै गर्नुपर्ने सम्मका आवाज पनि उठ्न थालेका छन् ।

इरानलाई सैन्य सहयोगको आरोप

पछिल्लो समय मध्यपूर्वका दुई देश इजरायल-इरानबीच भएको १२ दिने युद्ध र त्यसपछिको युद्धविरामपछि चीनले इरानलाई जमिनबाट आकाशमा मार हान्ने मिसाइलका लागि ब्याट्री आपूर्ति गरेको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।

चीनले तेलको सट्टामा ब्याट्री आपूर्ति गरेको हो । यस्ता पार्टपुर्जाहरू तेहरानका लागि महत्वपूर्ण सैन्य आवश्यकता हुन् ।

इजरायली मिसाइलले इरानको हवाई रक्षा प्रणालीमा ठूलो क्षति पुर्‍याएपछि इरानले त्यसको पूर्ति चिनियाँ सैन्य सामग्रीबाट गरेको हो ।

तर, इजरायलस्थित चिनियाँ दूतावासले यी खबरलाई अस्वीकार गर्दै चीनले सामूहिक विनाशका हतियारहरूको विस्तारको कडा विरोध गर्ने र युद्धरत देशहरूलाई हतियार निर्यात नगर्ने बताएको छ ।

तर, चीनको विदेश मन्त्रालयले आफूमाथि लागेको आरोपबारे अहिलेसम्म आधिकारिक वक्तव्य जारी गरेको छैन ।

चीनको रणनीतिक मामिलामा विशेषज्ञहरूले बेइजिङले इरानलाई सैन्य सहयोग प्रदान गर्ने सम्भावना रहेको तर यो गुपचुप हुने सम्भावनालाई जोड दिएका छन् ।

भित्रभित्रै सहयोग गरेपनि सार्वजनिक रूपमा चीनले यसबारे स्वीकार नगर्ने उनीहरूको भनाइ छ । यस्तो 'इन्कार गर्न सकिने विश्वसनीयता (प्लसिबल डिनायबिलिटी)ले बेइजिङलाई आफ्नो सैन्य प्रभाव विस्तार गर्न र आफ्ना हतियारहरू प्रदर्शन गर्न अनुमति दिएको मानिन्छ ।

यससँगै चीनले अन्तर्राष्ट्रिय आलोचनालाई टार्दै कूटनीतिक लचकता कायम राख्ने गरेको छ । तर, यो रणनीति सधैँ प्रभावकारी नहुने विश्लेषकहरूको भनाइ छ ।

रुसलाई चीनको गुप्त सहयोग

सन् २०२२ मा शुरू भएको रुस-युक्रेन युद्धमा बेइजिङले तटस्थताको दाबी गरे पनि व्यवहारमा रुसलाई गोप्य सहयोग गरेको थियो ।

यो सहयोग पश्चिमी नेतृत्वको अन्तर्राष्ट्रिय व्यवस्थालाई चुनौती दिने साझा रणनीतिक लक्ष्यसँग सम्बन्धित छ । हालै, चिनियाँ विदेशमन्त्री वाङ यीले युरोपेली संघका विदेश नीति प्रमुख काजा कालासलाई बेइजिङले रुसको हार देख्न नसक्ने बताएका थिए ।

उनले रुसी हारले अमेरिकी रणनीतिक दबाबको पूर्ण शक्ति चीनमाथि पर्ने चेतावनी दिएका थिए ।

मस्कोले पश्चिमी प्रतिबन्धहरूको सामना गरिरहेको बेला बेइजिङले रुसको अर्थतन्त्रलाई जीवनरेखा प्रदान गर्न ठूलो परिमाणमा दोहोरो उपयोग (नागरिक र सैन्य दुवै उद्देश्यका लागि प्रयोग गर्न सकिने) वस्तुहरू आपूर्ति गरेको छ ।

यी सामग्रीहरूले रुसको आक्रामक र रक्षात्मक क्षमतालाई वृद्धि गर्नुका साथै चीनको सैन्य-औद्योगिक उत्पादनलाई समेत बढावा दिएको छ । साथै, चीनले रुसलाई युद्धक्षेत्रमा सहयोग गर्न स्याटेलाइट तस्बिरहरू पनि प्रदान गरेको आरोप छ ।

युरोप र अमेरिकाले चीनमाथि रुसलाई सैन्य सहयोग गरेको भन्दै बारम्बार आलोचना गरे पनि बेइजिङले यस्ता दाबीहरूलाई अस्वीकार गर्दै आएको छ ।

गत अप्रिल १८मा युक्रेनले औपचारिक रूपमा चीनमाथि रुसलाई प्रत्यक्ष सहयोग गरेको आरोप लगाएको थियो । युक्रेनले रुसलाई सहयोग गरेको भन्दै तीन चिनियाँ हतियार कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगायो ।

तर, चीनको विदेश मन्त्रालयले युक्रेनको आरोपलाई खारेज गर्दै युद्धमा कुनै पनि पक्षलाई घातक हतियार प्रदान नगरेको र युद्धविराम तथा शान्ति वार्तालाई प्रोत्साहन गर्ने आफ्नो आधिकारिक अडान दोहोर्‍यायो ।

पाकिस्तानलाई सैन्य समर्थन

चीनले भारत-पाकिस्तान द्वन्द्वमा तटस्थताको दाबी गर्दै दुवै पक्षलाई संयम र शान्तिपूर्ण वार्ताको आह्वान गरेको थियो ।

तर, व्यवहारमा चीन पाकिस्तानको सहयोगी राष्ट्र हो । चीनले पाकिस्तानलाई प्रदान गरेको प्रत्यक्ष सैन्य सहयोगले भारतको क्षेत्रीय प्रभावलाई नियन्त्रण गर्ने, अमेरिका-भारत रणनीतिक साझेदारीको विरोध गर्ने र चीन-पाकिस्तान आर्थिक कोरिडोर जस्ता विशाल द्विपक्षीय परियोजनाहरूको संरक्षण गर्ने गरेको छ ।

गत मेमा भारत र पाकिस्तानबीच देखिएको सैन्य तनावमा पाकिस्तानले पहिलो पटक चिनियाँ निर्मित जे-१०सी लडाकु विमानहरू प्रयोग गरेको थियो ।

जसले पाँचवटा भारतीय विमानहरू खसालेको दाबी गरिएको छ । पाकिस्तानले भारतविरुद्ध जमिनबाट आकाश प्रहार गर्न सक्ने, हावाबाट हावामा प्रहार गर्न सक्ने मिसाइल प्रणाली,  उन्नत रेडार प्रणाली र टोही तथा आक्रमणका लागि ड्रोनहरू प्रयोग गरेको थियो ।

विगत पाँच वर्षमा पाकिस्तानको ८० प्रतिशत भन्दा बढी सैन्य आयात चीनबाट आएको छ ।

भारतीय सेनाका उपप्रमुखले चीनले उक्त द्वन्द्वमा पाकिस्तानलाई भारतीय सेनाको गतिविधिबारे वास्तविक समयको गुप्तचर जानकारी प्रदान गरेको आरोप लगाएका छन् ।

यसको जवाफमा चीनको विदेश मन्त्रालयले यो विषयमा कुनै जानकारी नभएको बतायो । चीनले चीन-पाकिस्तान सम्बन्ध कुनै तेस्रो पक्षविरुद्ध लक्षित नभएको र भारत-पाकिस्तान विवादको शान्तिपूर्ण समाधानको पक्षमा बेइजिङको अडान रहेको दोहोर्याउने गरेको छ ।

इरानसँगको बढ्दो साझेदारी

रुस र पाकिस्तानजस्तै, इरान पनि चीनको नजिकको साझेदारको रूपमा देखा परेको छ । सन् २०२१ मा चीन र इरानले व्यापार, ऊर्जा र सुरक्षालाई ४०० अर्ब अमेरिकी डलरको सहयोग सम्झौता गरेका थिए ।

बेइजिङको दृष्टिकोणमा तेहरानले अमेरिका र उसका इजरायल र साउदी अरबजस्ता सहयोगी देशको क्षेत्रीय प्रभावविरुद्धमा लडिरहेको छ ।

इजारयलसँगको युद्धपछि इरानको क्षेत्रीय स्थिति कमजोर भएको छ । इजरायलसँगको टकरावमा उसको हवाई रक्षा प्रणालीमा ठूलो क्षति भएको छ भने हमास, हिजबुल्लाह र सिरियाको असद शासन जस्ता क्षेत्रीय सहयोगीहरू कमजोर भएका छन् ।

यस्तो परिस्थितिमा तेहरानले आफ्नो शासनमा स्थिरता कायम राख्न बेइजिङको सहयोग लिनु अपरिहार्य बनेको छ ।

चीनले इरानको तेल निर्यातमा लगाइएको प्रतिबन्धलाई बारम्बार छल्दै आएको छ । इरानको ९० प्रतिशत तेल निर्यात अझै पनि चीनतर्फ गइरहेको छ ।

इजरायलसँगको १२ दिने युद्धमा बेइजिङले इरानलाई कुनै ठोस सहयोग गरेको नदेखिएपनि त्यसयता इरानले आफ्नो रक्षा आवश्यकताको वैकल्पिक आपूर्तिकर्ताको रूपमा चीनलाई लिएको छ ।

इरानको परम्परागत सैन्य साझेदार रुसले पर्याप्त र गुणस्तरीय रक्षा उपकरण प्रदान गर्न नसक्ने र युक्रेन युद्धमा व्यस्त भएकाले इरान चीनतर्फ फर्किएको विश्लेषकहरूको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्