१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

विप्लवसँग एकता गर्ने माओवादीको निर्णय–पासाङलाई छैटौँ वरीयतादेखि दुर्गा प्रसाईंलाई राहतसम्म

साउन २०, २०८२
काठमाडौं
विप्लवसँग एकता गर्ने माओवादीको निर्णय–पासाङलाई छैटौँ वरीयतादेखि दुर्गा प्रसाईंलाई राहतसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।  

रातभर सिंहदरबारमा बसेर समितिले तयार गरेको प्रतिवेदन मंगलबारको बैठकमा पेस गर्ने निर्णय भएको समिति सदस्य माधव सापकोटाले जानकारी दिए । समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको हो ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। 

दक्षिण कोरियामा रोजगारीका लागि जाने इच्छुक नेपाली नागरिकका लागि यो परीक्षा महत्वपूर्ण मानिन्छ।
००००
सशस्त्र प्रहरी बल, नेपालले इन्स्पेक्टरदेखि एसएसपीसम्म बढुवा सिफारिस गरेको छ । बढुवा हुनेमा ६ एसपी, २२ डीएसपी र ४८ जना इन्स्पेक्टर छन् ।

बढुवा समितिको निर्णयअनुसार सशस्त्रका ६ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरिएको हो ।
००००
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईं सोमबार राति रिहा भएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार उनी दुई छुट्टाछुट्टै मुद्दामा २८ लाख धरौटी बुझाएसँगै डिल्लीबजार कारागारबाट रिहा भएका हुन् । 

उच्च अदालत पाटनका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलास उनलाई सोमबार राज्यविरुद्धको कसुरमा ३ लाख र बैंकिङ कसुरमा २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
००००
यसैबीच कारागारमुक्तिपछि पहिलो पटक सार्वजनिक रुपमा फेसबुकबाट प्रतिक्रिया दिँदै प्रसाईंले देश तथा विदेशमा रहेका सबै समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रसाईंले भने, ‘जिल्ला अदालतको आदेशअनुसार म खुशी साथ कारागार गएको थिएँ, उच्च अदालतको आदेशले मलाई घर फर्किने बाटो देखायो। तर मेरो यात्राको अन्त्य होइन, देश निर्माणका योजनासहित म पुनः अघि बढ्दैछु ।’
००००
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार भक्तपुरस्थित बोर्डमा बसेको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो । 
बोर्डका अनुसार यस पटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।
००००
नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माविरुद्ध अधिकांश नेता एक ठाउँमा उभिएका छन् । 

पार्टीमा विधि, पद्धति र प्रणाली विकासको बहस चलाएको आधारमा शर्माविरुद्ध माओवादीका प्रायस् शीर्ष नेता एक ठाउँमा उभिएका हुन् । २४ पदाधिकारीसहित ४६ सदस्यीय स्थायी कमिटीको बैठकमा शर्माको पक्षमा थोरै सदस्य मात्रै उभिए ।
००००
नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लवसँग एकता गर्ने निर्णय गरेको जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रले पूर्व राष्ट्रपति नन्दबहादुर पुन पासाङलाई छैटौं वरीयतामा राखेको छ ।

पार्टीको वेबसाइटमा पुनलाई छैटौं वरीयतामा राखिएको हो । उपाध्यक्षमा मनोनीत गरिएका पुनलाई माओवादीले छैटौं वरीयतामा राखेको हो ।
००००
नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ मा गरिएको संशोधन फिर्ता नभएसम्म कुनै पनि तहमा न्यायाधीश नियुक्ति नगर्न माग गरेको छ । नेपाल बार एसोसिएसनले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त माग अघि सरेको हो ।

‘न्याय परिषद् नियमावली, २०७४ मा गरिएको पहिलो संशोधन, जसले लामो समयदेखि सेवा गरी आएका न्यायाधीशहरूको वरीयता क्रममा फेरबदल गरेको छ, तुरुन्त खारेज गरियोस् । यो संशोधन फिर्ता नभएसम्म कुनै पनि तहमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढाइयोस्,’ विज्ञप्तिमा उल्लेख छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अङ्कले बढेर दुई हजार ८७५ दशमलव ३६ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।
००००

नेपाल प्रिमियर लीग (एनपीएल) क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आयोजनाका क्रममा भएको खर्चको विवरण प्रस्तुत गर्दा ‘स्लट कस्ट’ भनेर एकमुस्ट दुई करोड ९३ लाख रुपैयाँ खर्च देखाइएपछि क्यान बोर्डभित्र तीव्र असन्तुष्टि उत्पन्न भएको छ ।

क्यानका बोर्ड सदस्यहरूले सम्बद्ध अधिकारीसँग विस्तृत रूपमा खर्च विवरण पेश गर्न माग गरेका छन् । एनपीएलको पहिलो संस्करण सम्पन्न भएको लामो समय बितिसक्दा पनि खर्च विवरण सार्वजनिक नगरिएको भन्दै क्यानका सदस्यहरूले गुनासो गर्दै आएका थिए । त्यसपछि क्यानको हालै सम्पन्न बोर्ड बैठकमा एनपीएलको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो ।
००००
नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि  दाबी पेस गरेका छन् ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको केही समयभित्रै बानियाँले नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका हुन् । 
००००
चालु आर्थिक वर्ष २०८२–८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित दुई हजार एक सय जनशक्ति थप गर्न प्रस्ताव गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घुस प्रकरणमा राजीनामा दिएका तत्कालीन मन्त्री राजकुमार गुप्तामाथि छानबिन नभएकोमा आपत्ति जनाएको छ ।

अडियो प्रकरणमा नाम जोडिएका भूमि मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई उन्मुक्ति दिइएकोमा रास्वपाले विरोध जनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्