
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ ।
उच्च अदालत पाटनले प्रसाई विरुद्धको दुई छुट्टाछुट्टै मुद्दामा धरौटीमा छाड्ने गरेको आदेशविरुद्ध सर्वोच्च जाने तयारी महान्यायाधिवक्ता कार्यालयले गरेको हो ।
महान्याधिवक्ता कार्यालयका प्रवक्तासमेत रहेका सहन्यायाधिवक्ता उद्धव पुडासैनीले समेत उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन लिएर जाने तयारी भइरहेको बताए ।
‘उच्च अदालत पाटनको आदेश बदर गरी पाऊँ भन्दै निवेदन लिएर जाने तयारी गरिरहेका छौं,’ पुडासैनीले लोकान्तरसँग भने, ‘२/३ दिनभित्र सर्वोच्चमा निवेदन दिन्छौं ।’
उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले प्रसाईलाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।
उच्च अदालत पाटनको आदेशअनुसार उनी दुई छुट्टाछुट्टै मुद्दामा २८ लाख धरौटी बुझाएसँगै डिल्लीबजार कारागारबाट रिहा भएका थिए ।
गत जेठ २९ गते काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराधबारे अनुसन्धान गर्न उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोही आदेशअनुसार प्रसाईं कारागारमा बसेका थिए ।
गत असार ६ गते प्रसाईंसहित सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम जिल्ला अदालतको आदेश खारेज गरी आफूहरूलाई थुनामुक्त गर्न आदेश माग गर्दै निवेदन दिएका थिए ।