
पाँचौं खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय वादोरियो कराँते टोली बुधबार श्रीलंका प्रस्थान गर्ने भएको छ ।
प्रतियोगिता अगस्ट ७ र ८ तारिखमा आयोजना हुनेछ । प्रतियोगितामा तीन पुरुष र दुई महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेङ थोक्रा, ५२ केजीमुनि निशान घले र ४० केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी, महिला ६१ केजीमुनि उर्शला पहरी र ५० केजीमुनि अर्पणा मगरले खेल्नेछन् । नेपाली टोलीको प्रमुख प्रशिक्षकमा नेपाल वादोरियो कराँते डो संघका अध्यक्ष हरिशरण केसी र अफिसियलमा राजकुमार कार्की रहेका छन् ।
टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', पूर्वमन्त्री शक्ति बस्नेतलगायतले मंगलबार बिदाइ गरे ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमलालगायतको उपस्थिति रहेको थियो ।