०८ साउन २०८३, शुक्रबार

एमालेले टुंगो लगायो विधान महाधिवेशनका चार एजेण्डा

साउन २०, २०८२
काठमाडौं
एमालेले टुंगो लगायो विधान महाधिवेशनका चार एजेण्डा

नेकपा एमालेले आगामी विधान महाधिवेशनमा मुख्य चार एजेण्डामा छलफल हुने टुंगो लगाएको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीमा हुने महाधिवेशनका लागि चार एजेण्डा तय गरेको हो ।

एमाले महासचिव शंकर पोखरेलले विधान महाधिवेशन नीति निर्माण र विधि स्थापित गर्ने गरी चार एजेण्डा तय भएको जानकारी दिए । विधान महाधिवेशनको तयारी र प्रचार योजनाका सन्दर्भमा केन्द्रीय प्रचार विभागले मंगलबार आयोजना गरेको बैठकमा बोल्दै महासचिव पोखरेलले मूलत: विधि र पद्धति स्थापित गर्दै पार्टीलाई एक लयमा हिँडाउने गरी योजना बनाइएको बताए । 

महासचिव पोखरेलका अनुसार विधान महाधिवेशनमा चार वटा एजेण्डा छन् । जसमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रूपमा रहेका चार सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुनेछन् । यस्तै, महाधिवेशनले समसामयिक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ ।

‘विधान महाधिवेशनले अब हामी कसरी अघि बढ्ने भन्ने पार्टीको नीति विधि बनाउँछ । राजनीतिक प्रतिवेदन र संगठन कसरी जान्छ भन्ने निर्धारणसहित संगठनात्मक प्रस्तावलाई पारित गर्छ । हामी आफूलाई कसरी सञ्चालन गर्छौं भन्ने कुरा निर्धारण गरी विधि निर्माण गर्छौं र केन्द्रीय निकायको प्रतिवेदनमाथि छलफल गरी सुझावसहित पारित गर्छौं,’ विधान महाधिवेशनको एजेण्डाबारे महासचिव पोखरेलले भने ।

महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रूप दिएर सुझावका लागि देशभर पठाएको छ । प्राप्त सुझावका आधारमा संयोजक उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिनेछ ।

यस्तै, महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यस्तै, महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बा र सल्लाहकार परिषद् सभापति अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।

प्रचार कार्ययोजना बनाउन कार्यदल गठन

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । त्यसको तयारीका लागि एमालेले विभिन्न उपसमिति बनाइसकेको छ । प्रचारका लागि केन्द्रीय प्रचार विभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ ।

समितिमा विभाग र प्रेस चौतारीका पदाधिकारीसहित नेकपा एमाले बागमती प्रदेश, जिफन्ट, युवा संघ, अनेरास्ववियु र नेपाल बौद्धिक परिषद्‍का प्रचार विभाग प्रमुख सदस्य रहेका छन् ।

उपसमिति प्रमुख गौतमले प्रचारको काम अघि बढिसकेको भन्दै तीन दिनभित्र स्पष्ट कार्ययोजना पेस गर्न कार्यदल गठन भएको जानकारी दिए । 

प्रमुख गौतमका अनुसार कार्यदलमा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, विश्वमणि सुवेदी र जिफन्टका प्रचार विभाग प्रमुख महेन्द्र श्रेष्ठ छन् । कार्यदलले सम्मेलन स्थलमा मिडिया व्यवस्थापनदेखि प्रचारका अन्य योजनाबारे सुझावसहित प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्