०८ असार २०८३, सोमबार

उत्तरकाशीमा ३४ सेकेन्डको त्रासदी : ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

साउन २१, २०८२
काठमाडौं
उत्तरकाशीमा ३४ सेकेन्डको त्रासदी : ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित धाराली गाउँमा मंगलबार दिउँसो १:४५ बजे भीषण बाढी र पहिरोको घटनाले भयावह विनाश निम्त्याएको छ। उक्त विपत्तिमा हालसम्म ४ जनाको ज्यान गएको पुष्टि भएको छ भने ५० भन्दा बढी मानिस अझै बेपत्ता छन्।

धाराली गाउँ गंगोत्री तीर्थयात्रीहरूको प्रमुख गन्तव्य हो। पहाडबाट बगेर आएको भग्नावशेषले गाउँका घर, होटल र बजार क्षेत्रलाई ३४ सेकेन्डमै पूर्ण रूपमा ध्वस्त बनायो। उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीहरूले १३० जनाभन्दा बढीको सकुशल उद्धार गरेका छन्।

धरालीसँगै हर्षिल र सुक्की क्षेत्रमा पनि भारी वर्षाको पुष्टि भएको छ। हर्षिलमा ८ देखि १० जना सेनाका कर्मचारी बेपत्ता रहेको बताइएको छ। प्रशासनले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेको छ।
विनाशकारी घटनामा धाराली गाउँमा अवस्थित १५०० वर्ष पुरानो कल्प केदार महादेव मन्दिर पनि भग्नावशेषमा पुरिएको छ। पञ्च केदार परम्परासँग सम्बन्धित यस मन्दिरलाई स्थानीय बासिन्दाहरूको आस्थाको केन्द्र मानिन्थ्यो।

वरिष्ठ भूगर्भविद् प्रो. एसपी सतीका अनुसार धाराली ट्रान्स हिमालय क्षेत्रमा, मुख्य केन्द्रीय थ्रस्टमा अवस्थित छ । जुन भूकम्प र पहिरोको हिसाबले अति संवेदनशील मानिन्छ। उनले यस स्थानलाई ‘टाइम बममा बसोबास’ गरिरहेको क्षेत्रको संज्ञा दिएका छन्।

उक्त क्षेत्रमा पहिले पनि १८६४, २०१३ र २०१४ मा पनि भीषण वर्षा भएको थियो। ती सबै घटनापछि भूगर्भविद्हरूले राज्य सरकारलाई गाउँ स्थानान्तरण गर्न सल्लाह दिएका थिए, तर यसमा कार्यान्वयन भएको थिएन।

छ महिनाअघि पहाडको एक भाग खसेर खीरगंगा नदीमा अड्किएको थियो। सम्भवतः यसपटक त्यही अड्किएको भाग फुत्किएर नदीमा बाढी आएको र विनाश निम्त्याएको बताइएको छ । 

एसडीआरएफ, एनडीआरएफ, आईटीबीपी र भारतीय सेनाका टोलिहरू उद्धार तथा खोजी कार्यमा संलग्न छन्। अत्यधिक वर्षा र दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ।

प्रशासनले प्रभावित क्षेत्रका जनतालाई सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ। मौसम विभागले आगामी दिनहरूमा अझै भारी वर्षा हुन सक्ने चेतावनी पनि दिएको छ।

salt training

कमेन्ट गर्नुहोस्