
शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले विद्युतीय सवारी (ईभी) क्षेत्रतर्फ आफ्नो उपस्थितिलाई विस्तार गर्दै अहिले फ्यारिजोन, चेरी वान्डा र किङ लङजस्ता चिनिएका ब्रान्डमार्फत् व्यवसायिक ईभी पनि नेपाली बजारमा ल्याएको छ ।
विश्वमा विद्युतीय सवारीको उपयोगमा नेपाल अग्रपंक्तिमा रहँदै आएको छ । निजी सवारीको शुरूआती विस्तारपछि अहिले व्यावसायिक ईभीको मागमा तीव्र वृद्धि भएको छ ।
यही प्रवृत्तिलाई ध्यानमा राख्दै जगदम्बा मोटर्सले नेपालका लागि १४ देखि १९ सिटेसम्मका विभिन्न प्रकारका बहुउपयोगी व्यवसायिक ईभी बजारमा ल्याएको जनाएको छ ।
‘व्यावसायिक सवारीका क्षेत्रमा विविध विद्युतीय समाधान प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । ईभी पारिस्थितिकीय तन्त्रलाई सुदृढ बनाउन विविध विकल्प आवश्यक छन् जसले व्यावसायिक चालकहरूको बोझ घटाउन मद्दत गर्दछ’, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले भने ।
जिली अटोमोबाइल अन्तर्गतको ब्रान्ड ‘फ्यारिजोन’ले आधुनिक, स्मार्ट र आरामदायक डिजाइनमा आधारित व्यावसायिक ईभी भ्यान प्रदर्शनीमा पहिलोपटक प्रस्तुत गरेको छ ।

यो १९ सिटर विद्युतीय भ्यान प्रयोगशीलता र यात्रुको सहजतालाई प्राथमिकतामा राखेर तयार पारिएको हो । यसको मूल्य नेपाली बजारमा ७६ लाख ९० हजार रूपैयाँदेखि शुरू हुने कम्पनीले जनाएको छ ।
त्यस्तै, जगदम्बा मोटर्सको अर्को व्यावसायिक ईभी ‘चेरी वान्डा’ १४ सिटे माइक्रोबस हो, जुन चीनका चर्चित दुई अटो ब्रान्ड चेरी र वान्डाको सहकार्यमा तयार गरिएको हो ।
१८० मिमि ग्राउण्ड क्लियरेन्स, सीएटीएलको ५३.५८ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो माइक्रोबस भरपर्दो, किफायती र कुशल यात्राको लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
यो सवारी एकपटक चार्जमा ३०० किलोमिटर एनईडीसी दूरी यात्रा गर्न सक्छ भने यसको मूल्य ५६ लाख ५० हजार रूपैयाँ रहेको छ ।
यसमा ३ लाख किलोमिटर वा ५ वर्षको ब्याट्री वारेन्टी र २ लाख किलोमिटर वा ५ वर्षको मोटर वारेन्टी दिइएको छ, जसले गर्दा यो शहरमा दैनिक ओहोरदोहोरका लागि उपयुक्त तथा किफायती विकल्प भएको कम्पनीको दाबी छ ।
जगदम्बा मोटर्सका यी व्यावसायिक ईभीहरू नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा हल ‘डी’, स्टल डी-१६ मा प्रदर्शनीका लागि राखिएको छ । एक्स्पोका अवसरमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष अफरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।