
तनहुँमा एक वर्षमा नौ हजार ५०० भन्दा बढी पशुको कृत्रिम गर्भाधान गरिएको छ । जिल्लामा रहेका १० वटा कृत्रिम गर्भाधान केन्द्रबाट आर्थिक वर्ष २०८१/८२ मा नौ हजार ५५२ पशुको कृत्रिम गर्भाधान गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ ।
पछिल्लो केही वर्षयता जिल्लामा कृत्रिम गर्भाधानप्रति कृषकको आकर्षण बढ्दो छ । आर्थिक वर्ष २०८०÷८१ मा आठ हजार ११३ र आर्थिक वर्ष २०७९÷८० मा सात हजार ९१६ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।
केन्द्र प्रमुख रविनसन अधिकारीले नेपालमा पालिएका दुधालु गाईको नस्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको बताए । पशुहरूमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने अधिकारीको भनाइ छ ।