२८ असार २०८३, आइतबार

कोशीमा विपक्षीले ल्याएको विधेयक फेल गराउन सत्ता पक्षका सांसदहरूलाई निर्देशन

साउन २२, २०८२
विराटनगर
कोशीमा विपक्षीले ल्याएको विधेयक फेल गराउन सत्ता पक्षका सांसदहरूलाई निर्देशन

कोशी प्रदेश सभामा विपक्षीले दर्ता गराएको गैरसरकारी विधेयक आज प्रदेशसभामा ‘टेबल’ हुँदैछ । भाषा आयोगको सिफारिसअनुसार लिम्बू र मैथिली भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने तथा प्रदेशभित्र बोलिने सबै राष्ट्रभाषाको संरक्षण, सम्वर्द्धन तथा विकास गर्ने उद्देश्यले विपक्षी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले गैरसरकारी विधेयक दर्ता गराएका थिए ।

विधेयकको विपक्षमा उभिन सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई निर्देशन दिएका हुन् ।  

‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बिहीबार १ बजेको प्रदेशसभा बैठकमा टेबल हुने कार्यसूची छ । यो विधेयक माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र एकीकृत समाजवादी सांसद खिनु लङ्वा लिम्बूले दर्ता गरेका हुन्  । विधेयकलाई निष्क्रिय पार्न एमाले–कांग्रेसले आफ्ना सांसदलाई विपक्षमा मतदान गर्न निर्देशन गरेका हुन् ।  

संसद्मा कानून निर्माण प्रक्रियामा ह्विप लगाउने प्रचलन हुँदैन । ह्विप लगाउन नमिल्ने भएपछि निर्देशन जारी गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए ।

गत फागुन २८ गते प्रदेशसभामा उक्त विधेयक दर्ता भएको थियो  । विपक्षीले ल्याएको विधेयकलाई असफल बनाउने तयारीमा सरकार रहेको छ ।  सरकारले नै विधेयक पेश गर्ने तयारी गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

गैरसरकारी विधेयकमा प्रदेशभित्र बहुप्रचलित मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजका दस्तावेजहरूको अभिलेखीकरण र दस्तावेजीकरणको प्रमुख भाषा बनाउन प्रस्ताव गरिएको छ । साथै, यी भाषामा सेवा उपलब्ध गराउने प्रयोजनका लागि प्रत्येक सम्बन्धित कार्यालयमा कम्तीमा १–१ जना भाषा अनुवादकको दरबन्दी कायम गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तै, विद्यालय तहदेखि स्नातकोत्तर तहसम्म मातृभाषामा पठनपाठनको व्यवस्था, पत्रपत्रिका तथा साहित्य प्रकाशनमा प्रोत्साहन, भाषाविज्ञसहितको सल्लाहकार समूह र भाषा विकास प्रतिष्ठानको गठन, लोकसेवा आयोगको परीक्षा पाठ्यक्रम अनुवाद लगायतका विस्तृत प्रावधान विधेयकमा समावेश छन् ।

साउन १६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले भाषासम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको थियो । लगत्तै १८ गते विधेयक प्रदेशसभामा दर्ता गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्