
सप्तरीको राजगढ गाउँपालिका-२, कमलपुर निवासी ३६ वर्षीय लालु यादवको हत्या घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिनका लागि तत्काल समिति गठन गर्न नेपाल-भारत खुला सीमा संवाद समूहले माग गरेको छ ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै संवाद समूहले घटनामा संलग्न प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही प्रक्रिया शुरू गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा तथा न्याय सुनिश्चित गर्न समेत माग गरेको छ ।
यसैगरी, राज्यले यस घटनालाई सामान्यीकरण नगरी गम्भीर संवेदनशीलताका साथ सम्बोधन गर्न पनि समूहले माग गरेको छ ।
मंगलबार राति प्रहरीको गोली लागेर यादवको मृत्यु भएको संवाद समूहले जनाएको छ । उनी खुवलाल जगन्नाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत थिए ।
उनले इजाजत लिएर कानूनी प्रक्रियामार्फत् मदिरा व्यवसाय सञ्चालन गर्दै आएकोमा स्थानीय प्रहरी प्रशासनले नियमनको नाममा दमनकारी शैली अपनाउँदै नियन्त्रणमा लिने क्रममा उनलाई गोली प्रहार गरी ज्यान लिएको समूहको भनाइ छ ।
‘घटनाले सम्पूर्ण मानवअधिकार, न्याय प्रक्रिया र राज्य संयन्त्रको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ । शान्तिपूर्ण तवरले समाधान गर्न सकिने स्थितिमा समेत बल प्रयोग गरिनु अमानवीय र गैरकानूनी हो’, नेपाल-भारत खुला सीमा संवाद समूह सप्तरीका अध्यक्ष गजेन्द्र कुमार मण्डलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्ता घटनाहरूले राज्य र नागरिकबीचको विश्वास खण्डित गर्ने मात्र होइन, सीमावर्ती क्षेत्रमा असन्तोष र अस्थिरता निम्त्याउने खतरा बढाउने अध्यक्ष मण्डलले भनेका छन् ।
‘खुला सीमाका संवेदनशील स्थानहरूमा राज्य संयन्त्रले जनतामाथि विश्वास गर्ने र लोकतान्त्रिक उत्तरदायित्व पूरा गर्ने कार्यशैली अवलम्बन गर्न अत्यावश्यक छ । न्यायको सुनिश्चितता नै स्थायी शान्ति र सुशासनको आधार हो । सरकार गम्भीर होस्’, विज्ञप्तिमा भनिएको छ ।
